आज देशैभर भाइटीका लगाइएको छ । दैलेखका कारागारमा पनि कैदीबन्दी महिला र पुरुषहरूलाई उनीहरूका दाजुभाइ दिदीबहिनीहरूले टीका लगाइदिएका छन् ।
धर्म संस्कृति र परम्परा अनुसारका पर्वहरू मनाउँदा थुनुवाहरूमा रचनात्मक काम गर्ने उत्प्रेरणा पैदा गर्ने भएकोले दसैँ तिहारलगायतका पर्वहरूमा घरपरिवारका सदस्य र आफन्तहरूलाई कारागारमा नै टीका लगाउने प्रबन्ध मिलाइएको कारागार प्रमुख जीतबहादुर केसीले बताए ।
जम्मा ८० जनाको क्षमता भएको कारागारमा बाहिरका बन्दीहरू समेत थपेर १ सय ५० भन्दा बढी पुर्याइएको कारण खानेपानी, शौचालयलगायतका असुविधाका कारण व्यवस्थापनमा समस्या भएको केसीले बताए ।
कैदीबन्दीले सीपमूलक तालिमहरू पनि नपाएको गुनासो गरेका छन् । यसबारे ध्यानाकर्षण गराउँदा कारागार प्रमुख जीतबहादुर केसीले प्रमुख जिल्ला अधिकारीमार्फत घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय निकायमा यसबारे पहल भइरहेको बताए ।