INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुराचार गरेको कसुरमा क्यानेडियन नागरिकको कसुर ठहर

१२ र १४ वर्षका बालकहरूलाई यौन दुराचार (फेडोफिल) गरेको आरोपमा नेपाल आएका समयमा गिरफ्तारीमा परेका ६१ वर्षीय क्यानेडियन नागरिक PETER JOHN DALGLISH लाई काभ्रे जिल्ला अदालतले जेठ २७ गते कसुर ठहर गरी सजायका लागि पेश गर्न आदेश गरेको छ ।

न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले उक्त आदेश दिएको हो । नेपालको नयाँ फौजदारी कानुन अनुसार अबको पेशीमा सजायको निर्धारण गरिन्छ ।

पाँच वर्ष अघिदेखि मण्डन देउपुर नगरपालिका–१ स्थित चिरिकाजी महर्जनको जग्गामा घर बनाएर आर्थिक अवस्था कमजोर भएका नेपाली बालबालिकालाई सहयोग गर्दै आएका उनलाई सिविआइको विशेष अनुसन्धान टोलीले गिरफ्तार गरी कारवाहीका लागि यहाँ पठाएको हो ।

पीडितका आफन्तहरूले आफ्ना बालबालिकालाई अन्तिम पटक ०७४ चैत १८ गते यौन दुराचार गरेको भनी ०७४ चैत २४ गते सिविआइमा रिपोर्ट गरेका थिए । सिविआइले ०७४ चैत २४ गते आरोपितलाई गिरफ्तार गरी घरको खानतलासी समेत लिएको थियो ।

पिटरले खानेकुरा, कपडा र नगद रकम दिएर बैङ्कक घुम्न लैजाने, ठूलो भएपछि पाँच तारे होटलमा काम लगाइदिने, विदेश लैजाने भन्ने प्रलोभनमा पारी पाँच वर्षदेखि यौन दुराचार गर्दै आएको आरोप थियो ।

पिटरलाई कानुन बमोजिम कारबाही र क्षतिपुर्तिका लागि माग दावी थियो । आरोपित सन् २००२ अक्टुबर १०मा पहिलो पटक नेपालस्थित UN को Senior adviser को रूपमा नियुक्त भएर नेपाल आएका थिए ।

उनले सन् २००२ देखि २००६ सम्म नेपालमै काम गरेका थिए । सन् २००६ देखि २०१० सम्म क्यानडा र सन् २०१० बाट २०१८ जनवरी १ सम्म अफगानिस्तानमा काम गरेका थिए ।

३० पटक भन्दा बढी नेपाल आएका उनी गिरफ्तारीमा पर्दा पर्यटक भिसामा ३० दिनका लागि आएका थिए ।

उनले भुकम्पले पुर्‍याएको भौतिक संरचनाको पुनर्निर्माणमा आर्थिक र सामाजिक सहयोग गरेको बताए । उनले तनहुँ र काभ्रे जिल्लाका ११ ओटा गाउँहरूमा खानेपानीको कार्यक्रम सञ्चालन गरेका थिए ।

बयानका क्रममा १६ वर्षदेखि १८ वर्षको उमेरसम्म धेरै बच्चाहरुलाई यौन दुराचार गरेपनि हाल भने त्यस्तो नगरेको बताएका थिए ।

प्रहरीले खानतलासीका क्रममा फेला पारेका विभिन्न देशका बच्चाहरूको अर्धनग्न तस्वीरहरू, पेन ड्राइभ, हार्ड डिक्स, क्यामरा, ल्यापटप, मोवाइल र कपडाहरू परिक्षणका लागि ०७४ चैत २६ गते विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । खानतलासीका क्रममा आरोपित र पीडितहरू पिटर बस्ने घरमा नाङ्गै अवस्थामा भेटिएका थिए ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०७५ वैशाख १९ गते जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।

पीडितहरूलाई ०७४ चैत २५ गते शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परिक्षण गरिएको हो । यस मुद्दामा विभिन्न १६ पटक अदालतमा पेशी तोकिएको थियो । पिटरलाई अहिले धुलिखेल कारागारमा राखिएको छ

अन्य

भिडियो