जिल्ला प्रशासनदेखि स्थानीय सरकारको तल्लो निकायसम्म कर्मचारी अभाव हुँदा दैनिक सेव प्रवाहमा समस्या भएको छ ।
जसका कारण सामाजिक सुरक्षा भत्ता तथा सरकारले प्रदान गर्ने अन्य सेवासुविधा लिन समेत जनताले सास्ती भोग्नु परेको छ ।
लोकसेवाबाट आएका कर्मचारी सुगम खोज्दै हिँड्न थालेपछि कर्मचारी अभाव बढेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा बाँकी कर्मचारीलाई भार परेको छ ।
कर्मचारी नहुँदा दैनिक ३० देखि ४० को हाराहारीमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राही मारमा पर्ने गरेका छन् ।
दुई दिन पैदल धाएर राहदानी बनाउन पुगेका उत्तरी साल्पासिलिछो गाउँपालिका-४ खाटम्माका प्रसान राईले पालो कुर्दै दिन गएको गुनासो गरे ।
‘सदरमुकामसम्म आउनु नै यति कष्ट, त्योमाथि कार्यालयमा कर्मचारी नहुँदा पालो पर्खनुपर्ने !’-उनले भने-‘एकछिनको कामका लागि दुई दिन कुर्नु पर्यो ।’
ग्रामीण भेगका सेवाग्राहीलाई सदरमुकाम धाउँदाको कष्टकर यात्रा, होटलमा महङ्गो पैसा तिरेर बस्नुपर्ने बाध्यता छ ।
साल्पासिलिछो, आमचोक र हतुवागढी गाउँपालिकाका दुर्गम भेगका सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन हप्ता बित्छ ।
‘एउटा नागरिकता बनाउन झण्डै एक हप्तै लाग्छ । यहाँ होटल, लजमा बस्दा उत्तिकै खर्च हुन्छ ।’-रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेका महेश गेलालले भने ।
२३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासनमा अहिले तीन जना अधिकृत, दुई जना नायव सुब्बा, दुई जना खरिदार र एक जना कम्प्युटर अपरेटरबाहेक अन्य पद रिक्त छन् ।
कर्मचारी पदपूर्तिका लागि मन्त्रालयबाटै पठाउन नसक्नाले कर्मचारीलाई दोहोरो मार परेको कार्यालयका नायब सुब्बा मख्खन श्रेष्ठले बताए ।
उनी भन्छन्-‘मन्त्रालयले कर्मचारी पठाउँदैन । कर्मचारी पनि काजसरुवा मिलाएर सुविधा सम्पन्न, घर पायक ठाउँमा जान्छन् । अहिले कामको भार पहिलेभन्दा दोब्बर थपिएको छ ।’
सबैभन्दा बढी कर्मचारी अभाव झेलिरहेको भोजपुरको दक्षिणी आमचोक गाउँपालिका करिब डेढ महिनादेखि वडासचिव विहीन छ ।
तत्कालका लागि अहेबलाई नै दोहोरो जिम्मेवारी दिएर वडासचिवको काम हेर्न लगाइएको छ । वडासचिव नहुँदा अहेबलाई नै काममा खटाउन बाध्य भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए ।
स्थानीय सरकार बनेपछि सुरूमा ६ जना वडासचिवमध्ये चार जना सरुवा मिलाएर र बाँकी दुई जना सचिव पनि समायोजनपछि डेढ महिनाअघि सरुवा भएपछि सिङ्गो गाउँपालिका वडा सचिवविहीन भएको हो ।
कर्मचारीका लागि केन्द्र सरकारसम्म पहल भइरहे पनि अहिलेसम्म सम्बोधन हुन नसकेको अध्यक्ष राईले बताए ।
उनले भने-‘सचिव नहुँदा जनताको काम एकदमै प्रभावित भएको छ । वडामा पञ्जिकरण, बसाइसराई लगायतका कामको विकल्प खोज्न बाध्य छौँ ।’
जिल्लाका नौ ओटै स्थानीय तहका अधिकांश वडाहरूमा सचिव नहुँदा दैनिक कार्यसम्पादनमा समस्या छ । टेम्केमैयुङ गाउँपालिकाको ४ र ५ वडा, षडानन्द नगरपालिकाको १, ६ र ७ वडा, १३ र १४ वडा, ४ र ५, २ र ३ वडा, साल्पासिलिछो गाउँपालिकाको १ र २ वडा, हतुवागढी गाउँपालिकाको ३ र ४ वडा, ५ र ६ वडा, ७ र ८ वडा, पौवादुङ्मा गाउँपालिकाको २ र ३ वडा, रामप्रसाद राई गाउँपालिकाको ४ र ५ वडा, ७ र ८ वडामा एकजना वडासचिवको भरमा काम चलाउनु परेको छ ।
सदरमुकाम रहेको भोजपुर नगरपालिकामै पनि १२ ओटा वडामध्ये ६ ओटा वडा एक जना सचिवले धानिरहेका छन् ।
केही महिनाअघि मात्र ११ र ९ को सचिव सरुवा भएकाले तत्काल कर्मचारी नियुक्ति नहुँदा दैनिकजसो ६ वडाको काममा मार परेको वडासचिव मणी राईले बताए ।
उनले भने-‘मन्त्रालयबाटै सिफारिस गरी नपठाउँदा यो झमेला भएको हो । आवश्यकता हेरी कर्मचारी नखटाइँदा दैनिक कार्यसम्पादन गर्न समस्या भएको छ ।’
यस्तै पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको ६, ७, ८ र ९ वडाको काम केही वर्ष अघिबाटै एउटै वडासचिवको भरमा काम चलिरहेको छ । दुर्गममा कर्मचारी नपठाइँदा कार्यभार बढेको वडासचिव तोयाराज दुलालले बताए ।
‘गाउँपालिकाले पनि जिल्ला प्राविधिक, सिडिओमार्फत मन्त्रालयसम्म पनि कर्मचारी नियुक्तिको माग त गरेकै हो तर पठाएनन् ।’-उनले भने-‘सामाजिक परिचालकको सहयोगमा चार/चार वडाको काम दुःखसुख चलाइएको छ ।’