तिनपाटन गाउँपालिका-६ मा रहेको माध्यामिक विद्यालय गडाम्रेमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी जेठ २७ गतेदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाबहादुर बोगटीले बताए । विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको उनले जनाए ।
बिरामीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको र सो को बारेमा तिनपाटन गाउँपालिका र वडा अध्यक्षलाई समेत जानकारी गराइएको बोगटीले बताए ।
विगत डेढ महिनादेखि एक दुई जना बालिकाहरू बिरामी पर्दै आएको र बेलाबेलामा दोहोरिने गरेकोमा जेठ २६ गते एकै दिन ८-९ जना बिरामी भएपछि भने विद्यालय नै बन्द गर्नु परेको बोगटीले जानकारी दिए ।
विद्यार्थीहरूमा वाकवाक गर्ने, थरथर काम्ने र बेहोस हुने खालको लक्षण देखिने गरेको उनले जानकारी दिए ।
बोगटीका अनुसार यसरी बिरामी हुनेमा कक्षा ८ देखि १० कक्षासम्मका छात्राहरू रहेका छन । बिरामीमा देखिएको लक्षण हेर्दा मास हिस्टेरिया हुन सक्ने सिन्धुली अस्पतालका डा. अभिशेक भण्डारीले बताए ।
समस्या समाधानका लागि जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सिन्धुली अस्पतालसँग समेत विद्यालयले समन्वय गरेको जनाएको छ ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा आवश्यक परेमा काउन्सलर सहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाउन अस्पताल तयार रहेको बताए ।