INSEC Online

📅 २०८३ जेष्ठ २१

गुठी विधेयक खारेजीको मागसहितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका चार जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरूमा डाक्टर महेशमान श्रेष्ठ, कृष्णगोपाल भायो, अनिश वैद्य र विकाश महर्जन रहेका छन् ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै जेठ २६ गते बिहान काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गर्दा अन्य तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा महेश्वर रन्जित, कृष्ण मानन्धर र सन्जिव बज्राचार्य रहेका छन् । उनीहरूको अन्नपूर्ण न्युरो अस्पताल र नर्भिकमा उपचार भइरहेको नेवा देशः दबुका अध्यक्ष नरेश ताम्राकारले बताए ।

उनले भने-‘शान्तिपूर्ण रूपमा बाजागाजा सहित आन्दोलन गरिरहेका बेला प्रहरीले आफूहरूमाथि ज्यादती गरेको हो ।’

नेवा देशः दबुका अध्यक्ष ताम्रकारले सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप समेत लगाए ।

उनले सरकारले ल्याएको अहिलेको विधेयक भनेको अघोषित रूपमा सम्पूर्ण गुठीहरूमा सरकारी संरक्षण गर्न खोज्नु रहेको आरोप लगाए ।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विधेयकमा गुठी संरक्षणको प्रावधान नसमेटिएकोले त्यो विधेयक खारेज गर्नुपर्ने माग राख्दै आएको उनको भनाई छ ।

उनले भने-‘विधेयक अनुसार गुठी संस्थान प्राधिकरणमा जाँदा सनातन धर्ममा ठूलो धक्का पर्ने भएकाले त्यसलाई सरकारले फिर्ता लिनुपर्छ ।’

गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने प्रावधानप्रति सरकारको गलत नियत रहेको र सरकारले ल्याएको गुठी विधेयक संस्कृति विरोधी र जनता विरोधी रहेको ज्यापू महागुठीका केन्द्रिय अध्यक्ष राजभाई जकनीकले बताए ।

अन्य

भिडियो