मानव अधिकार रक्षकहरूमा चुनौति थपिएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम फिदिममा जेठ २५ गते आयोजित मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागिहरूले सो चिन्ता व्यक्त गरेका हुन् ।
इन्सेकको सहकार्यमा पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदद्वारा आयोजित कार्यक्रममा इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले परिषदको घोषणापत्रका बारेमा जानकारी गराएका थिए ।
मानव अधिकारकर्मी मञ्जिता उपाध्यायले महिला मानव अधिकारको अवस्थाका बारेमा र कोमल कोइरालाले सहस्राब्दी विकास लक्ष्यका बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत अवधारणा पत्रमाथि वक्ताहरूले प्रविधिको प्रयोग गरी नयाँनयाँ ढङ्गबट घटनाहरू हुने गरेकाले अधिकारर्मीहरूमा चुनौति थपिएकोमा जोड दिए ।
राजनीतिक दल, तिनका भातृ सङ्गठन, अर्धभूमिगत सङ्गठनबट समेत अधिकारर्मीहरूले निर्वाध रूपमा काम गर्न कठिनाई भएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा साविक पूर्वाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाका अधिकारमकर्मीहरूको सहभागिता रहेको थियो ।
पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी प्रेम ओझालाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सविधानसभाका सदस्य अइन्द्र सुन्दर नेम्बाङ र इन्सेक प्रदेश १ का संयोजक एवम् कार्यक्रमका अध्यक्ष सोमराज थापाले रु ११ हजार १ सय ११ रुपियाँ, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
