तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको असराघाटमा रहेको माथिल्लो कर्णाली जलविद्युत निर्माणकर्ता जिएमआरको सम्पर्क कार्यालय नजिक अज्ञात पक्षबाट जेठ २४ गते राति प्रेसर कुकर बम बिष्फोट र मोटरसाइकलमा आगजनी गरिएको छ । स्थानीय दिपक बिसीको घर भाडामा लिएर जिएमआर कम्पनीले सम्पर्क कार्यालय स्थापना गरेको छ ।
विष्फोटनले बिसीको शौचालयमा पूर्णरूपमा क्षति भएको छ भने घर चर्केको छ । सोही घरमा राखेको घरधनीको भे ७ प ९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ ।
जिएमआरको सम्पर्क कार्यालयमा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
अज्ञात पक्षले राति करिब २ बजेर ३० मिनटमा असराघाटमा रहेको दिपक बिसीको ढुङ्गामाटोले बनेको तीनतले घर नजिक बम विष्फोटन गरिएको अछाम प्रहरीले पुष्टि गरेको छ ।
जिएमआर कम्पनीको सम्पर्क कार्यालयलाई लक्षित गरेर बम विष्फोट गरिएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ । घटना कसले गराएको हो भन्ने बारेमा एकिन हुन सकेको छैन ।
घटनामा संलग्न समूहको खोजीमा अछाम प्रहरीले सदरमुकाम मङ्गलसेनसहित इलाका प्रहरी कार्यालय, कमलबजार, विनायक र भैरवस्थान तुर्माखाँद र बेलखेतबाट प्रहरी परिचालन गरेको छ ।