महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न जेठ २४ गते गोली चलाएको छ ।
काठमाडौँको बौद्ध अत्तरखेलबाट डकैती मुद्दामा फरार रहेका ३९ वर्षीय छिरिङ तामाङलाई गोली हानेर गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
इलाम जिल्ला मइजोगमाई गाउँपालिका–६ घर भई काठमाडौँ बस्दै आएका तामाङको दाहिने गोडामा गोली लागेको महाशाखाका एसपी केदार ढकालले बताए ।
प्रहरीका अनुसार हतियार देखाएर लुटपाट गर्ने समूहका अन्य ६ जना विभिन्न स्थानबाट गिरफ्तार परेका थिए भने सो समूहका मुख्य व्यक्ति तामाङ भने फरार रहेका थिए ।
प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने गोडामा दुई राउण्ड गोली हानिएको एसपी ढकालले बताए । घाइते तामाङको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको छ ।
पछिल्लो पटक जेठ ८ मा यो समूहले जोरपाटीमा लुटपाट गरेको प्रहरीको आरोप छ । यो बाहेक अन्य ठाउँमा पनि उनीहरूले लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।