बढ्दै गएको शहरीकरणका कारण तम्घास बजारमा खानेपानी सङ्कट जटिल बन्दै गएको छ । तम्घासमा अघिल्ला वर्षहरूमा चैतदेखि जेठसम्म खानेपानी समस्या हुने गथ्र्यो ।
तर, अहिले असोज/कात्तिक महिनाबाटै खानेपानीको समस्या देखिएपछि झनै समस्या थपिएको छ । खानेपानी सङ्कट भएपछि होटल व्यावसायी, घर भाडामा बसेकाहरू, अस्पताल, ठुला कार्यालय र जिल्ला कारागारमा समेत खानेपानी सङ्कट भएको छ ।
‘एक ट्याङकर पानी दुई दिन हुँदैन । मिटरकोले पुग्न छोडेको ६ महिना भयो ।’–कलश होटलका प्रवन्धक रितेश केशीले भने–‘पानीले व्यावसाय धरापमा पर्यो ।’
उनले खानीपानी सङ्कट भएपछि अहिलेसम्म करिव ८०/९० हजारको खानेपानी ट्याङ्करबाट किनेको बताए ।
पर्याप्त पानी हुने सदरमुकाम तम्घासका पँधेरा पनि अहिले सुक्दै गएका छन् । जसका कारण पँधेरा पुगे पनि पानी पाइँदैन ।
‘बिहान ५ बजे तीन धारा पुगेर पानी ल्याएपछि क्याम्पस पुग्छु ।’–रेसुङ्गा नगरपालिका–२ की विपना कुँवरले भनिन् ।
तीन धारा, चारी खोला र चिदिचौरका खानेपानी मुहानले धेरैलाई धानेको थियो । अहिले तीन धारामा मात्रै पानी आउँछ ।
खानेपानी सुक्दै गएपछि अहिले रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा ट्याङकरमार्फत खानेपानी वितरण गरिरहेको छ ।
रेसुङ्गा नगरपालिकाले ट्याङकरमार्फत नागरिकलाई प्रति लिटर ५० पैसाका दरले खानेपानी वितरण गरेको नगरपालिकाका सूचना अधिकारी शङ्करप्रसाद गौतमले बताए । अहिलेसम्म १ सय १० ट्याङ्कर पानी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
खानेपानी सङ्कट समाधान गर्न रेसुङ्गा नगरपालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी तीन चरणका योजना अगाडि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
नगरपालिकाले दीर्घकालिन समाधानका रूपमा मजेङ खानेपानी योजना अगाडि बढाएको छ । यो लिफ्टिङ खानेपानीको डिपिआरका लागि अहिले २ करोड रूपियाँ विनियोजन गरिएको मरासिनीले बताए । मजेङ खानेपानी योजना सफल भए नगरपालिकाका सवै स्थानमा खानेपानी पुग्ने अपेक्षा गरिएको छ ।
वर्षौँदेखि सुरक्षा निकायनै ‘काकाकुल’
सशस्त्र प्रहरी बल नेपाल ३७ नं गुल्म गुल्मीले वषौँदेखि खानेपानीको चरम सङ्कट भोग्दै आएको छ । करिव २ सयको सङ्ख्यामा रहेका सशस्त्र प्रहरीले एक घण्टा टाढाबाट पानी ल्याउने गरेका छन् ।
रेसुङ्गा नगरपालिका–१२ मा २०६९ सालबाट सशस्त्र प्रहरी बस्दै आएको छ । गाउँमै खानेपानीको सङ्कट र आपूmहरू धेरै सङ्ख्यामा रहेकाले नजिकैको बसारी खोलाबाट अहिलेसम्म खानेपानी ल्याएर काम चलाएको सो गुल्मका गुल्मपति डिएसपी दिनेश रायमाझीले बताए ।
दैनिक बिहान र साँझ १५/२० जनाले खानेपानी ल्याउने गरेको उनले बताए । अहिले बोरिङको काम अगाडि बढेकाले केही समयमा खानेपानी समस्या समाधान हुने आशामा रहेको रायमाझीले बताए ।
दौघाको ६ सय घरमा खानेपानी सङ्कट
जनघनत्व कारण बजारमा मात्रै नभएर गाउँमा पनि खानेपानी सङ्कट रहेको छ । छत्रकोट गाउँपालिका–६ को दौघाका करिव ६ सय घरधुरी वर्षौँदेखि काकाकुल जस्तै भएका छन् ।
वडाध्यक्ष थम्मन ज्ञवालीका अनुसार साविकको वडा नं ३ देखि ९ सम्मका करिव ६ सय घर परिवारमा खानेपानी सङ्कट रहेको छ ।
हिउँद सुरू भएपछि २ रूपियाँ लिटरमा खानेपानी किन्नुपर्ने बाध्यता नागरिकमा रहेको ज्ञवालीले बताए । उनले अहिले दौघा बृहत लिफ्टिङ् खानेपानीमार्फत समस्या समाधानको लागि काम भइरहेको बताए ।
वर्षौँ पँधेरो धाउने सिङ्गो दलित गाउँ
धुर्कोट गाउँपालिका–२ पिलधारा र वडा नं १ नयाँगाउँका २ सय २७ घरले पुस्तौँदेखि पँधेराकै पानी पिउने गरेका छन् ।
जस मध्ये ९८ प्रतिशत सिङ्गो दलित समुदाय रहेको छ । एक गाग्रो पानीको लागी घण्टौँ पदैल हिँडेर पँधेरा खोज्नुपर्ने अवस्था यो समुदायको नयाँ कथा होइन ।
चोरपानी भन्ने ठाउँमा एउटा पँधेरो छ । जसले यहाँका नागरिकलाई खानेपानीको जोहो गरेको छ । यो पधेँरामा बिहानदेखि बेलुकासम्म कुनै मेलामा भन्दा कम मान्छे भेटिँदैनन् ।
साना बालबालिकादेखि आमाहरूको धेरै जसो समय पानीकै लागी पँधेरामा बित्ने गरेको गाउँका अगुवा गिरबहादुर सुनारले बताए ।
गृहकार्यभन्दा पानीकै चिन्ता
जनकल्याण प्रावि पिपलधारा र गणेश माविका करिव १ सय ५० विद्यार्थीको विद्यालय समय पछिको काम पानी बोक्ने हो ।
जनकल्याण प्राविको कक्षा ५ मा अध्ययनरत विद्यार्थी सचिन सुनारले स्कुल समय बाहेक बिहान बेलुका पँधेरामा खानेपानी ल्याउन जानुपर्ने अवस्था रहेको बताए ।
उनले दैनिक गृहकार्यभन्दा पानीकै चिन्ता लिनुपर्ने अवस्था रहेको बताए । चोरपानी पँधेरामै गाउँका विद्यार्थीहरूको धेरै समय बित्ने गणेश मावि पीपलधाराका प्रधानाध्यापक बाबुराम खनालले बताए ।
विद्यार्थीलाई मात्र त्यो समस्या नभएर शिक्षक र विद्यालय पनि खानेपानीको अत्यन्तै चपेटामा रहेको खनालले बताए ।
जनकल्याण प्राविका प्रधानाध्यापक कृष्ण केसीले बालबालिका जर्किन उचाल्ल सक्ने भएपछि पँधेरो पुग्नुपर्ने बाध्यता भएको बताए ।
‘पानी त खानुपर्यो नी ! अरू विकल्प नै छैन ।’–उनले भने–‘जसले पढाइमा पनि केही न केही प्रभाव परेकै छ ।’
