नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना पुरा हुनै लाग्दा समेत मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।
पाठ्यपुस्तक विक्री वितरणको जिम्मा लिएका वितरकहरूले आवश्यक किताब समयमै ढुवानी गरेर वितरण नगर्दा सोरु गाउँपालिकामा रहेका ४१ ओटा विद्यालयका विद्यार्थीले पुस्तक नपाएका हुन् ।
शैक्षिक सत्र सुरू भएको दुई महिना हुनलाग्दा पाठ्यपुस्तक नपाएपछि विद्यार्थीको पढाइमा बाधा भएको छ ।
‘विद्यालय खुलेको दुई महिना भई सक्यो पाठ्यपुस्तक अझै पाएका छैनौँ । विद्यालयमा रहेका केही किताबको भरमा शिक्षकले पढाउने गरेका छन् । किताब नहुँदा घरमा पढ्न पाईँदैन । सदरमुकाम गमगढीमा दुई पटक पुग्दा समेत पाठ्यपुस्तक पाइएन ।’–भवानी माविको कक्षा १० मा अध्यनरत विद्यार्थी शिवराम मल्लले बताए ।
कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्रको कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडौँका निजी प्रकाशनले जिल्लासम्म ल्याउने जिम्मा लिएका छन् ।
जिल्लामा ल्याइएका पुस्तकमध्ये छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकाका सबै विद्यालयलाई विक्री वितरण गर्ने जिम्मा जिल्लास्थित केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लार्यसले जिम्मा लिएका छन् ।
पहिलो पटक ल्याएका पुस्तक छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयमा वितरण भइसकेको शिक्षा समन्वय एकाइले जनाएको छ ।
एकाइका अनुसार सोरु गाउँपालिकाका ४१ ओटा विद्यालयका लागि ल्याएका पुस्तक सुर्खेतको मनकामना ढुवानी सेवामा रहेका छन् ।
ढुवानी सेवाले ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ ओटै विद्यालयले समयमै पुस्तक नपाएको त्रिशक्ति स्टशनरीका सञ्चालक नृपेन्द्रबहादुर मल्लले बताए ।