२८ वर्षीय पत्रकार विराट अनुपम (गौतम)लाई इटहरी उपमहानगरपालिकाका ५८ वर्षीय मेयर द्वारिक चौधरीले जेठ २१ गते नाक भाँच्ने धम्की दिएपछि पत्रकारहरूले सुरक्षाको माग गर्दै जेठ २३ गते प्रहरी र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
इटहरी र धरानमा पत्रकारमाथि जेठ ८ र २१ गते धम्की दिएकाले पत्रकार असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले सुरक्षाको माग गर्दै जेठ २३ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र एसपी यज्ञविनोद पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
महासङ्घ प्रदेश १, का अध्यक्ष विक्रम लुईटेल, महासचिव विवेक गौतम र सदस्यद्वय जयकृष्ण यादव र शशी कोइराला, महासङ्घका जिल्ला अध्यक्ष अमर खड्का सहितका पत्रकारले प्रशासन र प्रहरी कार्यालयमा पुगेर सुरक्षाको माग गर्दै ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मेयर चौधरीले जेठ २१ गते पत्रकार विराट अनुपमलाई सामाजिक सञ्जाल (फेसबुक) स्टाटसको विषयमा नाक भाँचिदिने सार्वजनिक धम्की दिएका थिए ।
उनले पत्रकार अनुपमको फेसबुकमा नकारात्मक कमेण्ट गरेपछि सो विषयमा अनुपमले जेठ २१ गते कमेण्टका विषयमा जिज्ञासा राख्दा मेयरले फोनमै नाक भाँच्न एक करोड छुट्टयाएको र आवश्यक परे १० करोड खर्च गर्न तयार रहेको टिप्पणी गरेको पीडित पत्रकारले बताए ।