नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको यहाँका मजदुरले गुनासो गरेका छन् ।
हिमा गाउँपालिका–१ बड्की देयारगाउँ र आचार्यलिहीका स्थानीय मजदुरले सडकमा काम गरेको वर्षदिन बित्दा पनि ज्याला नपाएको गुनासो गरेका हुन् ।
स्थानीय नेत्रबहादुर शाहीले नाग्म गमगडी सडक निर्माणको जिम्मेवारी लिएको थोदुङ निर्माण सेवा कम्पनीका सञ्चालक कार्मा नोर्बेल तामाङले काम गरेको ज्याला नदिएको गुनासो गरे ।
मुख्य ठेकेदारले पहिलो चरणमा सहायक ठेकेदारको रूपमा रामराजा महतलाई जिम्मा दिएको र बीचैमा उनीहरूको सम्बन्ध टुटेको थियो ।
तामाङले भने–‘फेरि अर्को सहायक ठेकेदार हरिहर काफ्लेले जिम्मेवारी सम्हालेका थिए । उनीसँगको ठेकेदारको सम्बन्ध पनि अहिले बिग्रेको छ ।’
स्थानीय नेत्र शाहीले भने–‘मुख्य ठेकेदार तामाङ आफूले काम नलगाएको भन्दै पन्छिन खोज्दैछन् । सहायक ठेकेदारहरूले मुख्य ठेकेदारको जिम्मेवारी भएकोले आफूहरूले तिर्न नसक्ने बताउदै आएको हुँदा कामदार भने अन्यौलमा परेका छन् ।’ अहिले मुख्य ठेकेदार आफैँ आएर काम गरिरहेको भएपनि तर कामदारले ज्याला नपाएको शाही बताउँछन् ।
श्रमको ज्याला नपाएको भन्दै कामदारले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय, जुम्लामा समेत उजुरी दिएका छन् । तत्काल छानविन गरि असुल उपर गरिदिनका लागि प्रशासनसँग माग गरेका छन् ।
कम्पनीवाट बाबुराम आचार्यले ३ लाख रुपियाँ, मनिराम रावतले २ लाख रुपियाँ, चन्द्रबहादुर बुढाले २५ हजार रुपियाँ, नन्दलाल आचार्यले ७५ हजार रुपियाँ, अलिबहादुर शाहीले ८ लाख ६० हजार रुपियाँ, दुर्गाबहादुर शाहीले १ लाख ३० हजार रुपियाँ, भावना बम शाहीले ३६ हजार रुपियाँ, बीरबहादुर शाहीले १ लाख ४४ हजार रुपियाँ, लक्ष्मीकान्त अधिकारीले ७५ हजार रुपियाँ, देविकृष्ण अधिकारीले १२ हजार रुपियाँ, गोपालबहादुर शाहीले ५० हजार रुपियाँ र मानसिंह सार्कीले १ लाख ४४ हजार रुपियाँ लिन बाँकी रहेको पीडितहरूले बताए ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कामदारले ज्याला नपाएको भन्ने विषयमा प्रशासनमा उजुरी आएपछि जेठ १८ गते तीनजना ठेकेदार सहित पीडित पक्षलाई छलफल राखी हप्ता दिनभित्र मजदुरको ज्याला उपलव्ध गराउने सहमति भएको जानकारी दिइन् ।
मजदुरले काम गरेको ज्याला नपाएपछि तीनै जना ठेकेदारको नाममा ठगी मुद्दा चलाउने चेतावनी समेत दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन् ।