बलात्कार घटनाबाट पीडित बनेकी ८२ वर्षीया बृद्धालाई इन्सेक विराटनगर कार्यालयले सहयोग गरेको छ ।
परिवारविहीन महिलालाई पीडितको अधिकारका लागि वकालत कार्यक्रम अन्तर्गत इन्सेक जिल्ला प्रतिनिधिले जेठ १९ गते पीडित बसेको घरमै गएर सहयोग गरेकी हुन् । अरूको घरमा शरण लिएर बसी रहेकी बृद्धालाई लत्ताकपडा, चप्पल, खानेकुरासमेत सहयोग गरिएको हो ।
प्रहरीले बृद्धालाई बलात्कार गरेको आरोपमा ३१ वर्षीय नातिलाई वैशाख २९ गते गिरफ्तार गरी घटनाको अनुसन्धान थालेको छ ।
गत वैशाख ५ गते बलात्कार गरेको थाहा पाएपछि गाँउलेमार्फत ढिलो गरी प्रहरीसम्म घटना पुगेपछि प्रहरीले गत वैशाख २९ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
पीडित बृद्धाको नागरिकता नभएका कारण उमेर जाँचका लागि जेठ २० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको र रिपोर्ट आएपछि अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रबहादुर रानाले बताए ।
पीडित र आश्रय दिने छिमेकी दुवैको आर्थिक अवस्था कमजोर भएका कारण उमेर जाँचका लागि रकम अभाव भएपनि इन्सेकले विभिन्न ठाँउमा पहल गरेको र जिल्ला प्रहरी कार्यालयमा समेत मौखिक जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले नै खर्च व्यर्होने भएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २९ गते नै कोशी अञ्चल अस्पतालमा गरिएको छ ।