राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक विकृति रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन् ।
बालविवाह रोकथाम अभियानमा नागरिक समाज तथा अभियानकर्ताले प्रहरीलाई दिएको सूचना बाहिरिँदा अभियानकर्ता असुरक्षित भएको प्रसङ्ग उल्लेख गर्दै खरेलले यसप्रति राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको बताए ।
स्थानीय मानव अधिकारकर्मीसँगको अन्तरक्रियामा उठेका समस्या सुल्झाउन कात्तिक ११ गते दैलेखमा सुरक्षा अधिकारीहरूसँग गरिएको छलफलमा क्षेत्रीय निर्देशक खरेलले सूचना दिनेको सुरक्षा सहज भएमा अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलाई नै सहज हुने बताए ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले दैलेखको नारायण नपा-१ रातामाटेको दलितबस्तीमा बनेको खानेपानी योजनाको मुहानको अवरोध हटाउन, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउन र उनीहरूलाई यातायात र अस्पतालमा पाउनु पर्ने सहुलियत उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा महिला हिंसा, बहुविवाह र अत्याधिक मदिरा सेवन प्रचलन प्रमुख समस्या रहेको बताए । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले विकास गतिविधिलाई मानव अधिकारमैत्री बनाउने प्रयत्न भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रभावकारी बनाउन नागरिक समाजको सहयोग उल्लेख्य भएको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको सुझावलाई मनन् गर्दै अधिकारकर्मीको सुरक्षा र सहकार्य अभिवृद्धिमा प्रहरीले ध्यान दिने प्रतिबद्धता जनाए ।