अन्तरजातीय विवाह गरेपछि विभिन्न समयमा हिंसा भोग्न बाध्य डिलाशैनी गाउँपालिका–३ पंसेराका २८ वर्षीय नरेश दमाई र २४ वर्षीया भागरथी वडको न्यायका लागि इन्सेक जिल्ला प्रतिनिधि नरी बडुको नेतृत्वले प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलसँग छलफल गरेका छन् ।
प्रतिनिधि बडुलगायत जिल्लास्थित अधिकारकर्मी र पत्रकारहरूको टोलीले दमाईको समस्याका बारेमा जेठ १३ गते प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका हुन् ।
०६७ वैशाख १ गते प्रेम विवाह गरेका नरेश र भागरथीले अन्तरजातीय विवाह गरेकै कारण बेलाबेलामा भागरथीका माइती पक्षबाट हिंसा भोगिरहेका छन् ।
‘दुवै दलित समुदायकै भएपनि भागरथी र मेरा जात मिल्दैन । उ म भन्दा ठुली हो । त्यसैले समाजले हाम्रो सम्बन्ध स्वीकार गर्नसकेको छैन ।’–पीडित नरेश दमाईले भने–‘हामीहरूलाई सात पटक कुटपिट गरिएको छ ।’
विवाह गरेदेखि नै गाउँलेहरूको हिंसा सहन बाध्य भएको पीडितहरूको गुनासो छ । ‘तँ भाँडले हाम्रो छोरी बाहेक अरू कोही भेटेनस ? भनेर धम्की दिनुका साथै कुटपिट समेत गर्छन् ।’–दमाईले भने ।
भागरथी र नरेश दुवै दलित समुदायकै हुन् तर दलित भित्रै पनि नरेशका जात भन्दा भागरथीको जात उपल्लो मानिन्छ ।
इन्सेक नेतृत्वको टोलीसँग प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नरेशको विषयमा आफूले न्यायका लागि पहल गर्ने बताए ।
‘धेरै घटना स्थानीय तहको न्यायिक समितिले हेर्ने व्यवस्था छ । अहिले नरेशको विषय अदालतमा भएकाले धेरै त भन्न सकिन्न तर पनि नरेशलाई गाउँमा बस्ने सम्मको वातावरणका लागि पहल गर्छु ।’–पौडेलले भने ।
विगतदेखि भागरथीका माइती पक्षबाट विभेद सहिरहेका नरेश र भागरथीलाई स्थानीय चार जनाले ०७५ चैत्र २६ गते कुटपिट गरेपछि उनले सहन सकेनन् र जिल्ला स्थानीय प्रहरी चौकीमा उजुरी दिए ।
प्रहरी चौकीमा घटना नमिलेपछि उनले प्रहरी चौकीमार्फत नै जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिए । उनको मुद्दा ०७६ वैशाख १७ गते जिल्ला अदालत बैतडीमा दर्ता भएको छ ।
स्थानीय प्रहरी र न्यायिक समितिमा त धेरै पटक उजुरी दिएको तर आफूले न्याय नपाएको उनको गुनासो छ । न्यायिक समिति र प्रहरीमा उपस्थित गराउने बेला आज उपरान्त कुटपिट र विभेद नगर्ने भनेपनि फेरि घरमा जाँदा पुरानै व्यवहार दोहो¥याउने गरेको पीडितको भनाई छ ।
पंसेरामा दमाई परिवार एउटा नरेशको मात्रै हो । त्यसैले पछि उनले बढी विभेद खेप्नुपरेको छ । गाउँमा सञ्चालन हुने विभिन्न बैठक, समारोह र अन्य सार्वजनिक काममा समेत आपूmहरूलाई स्थानीयले बन्देज गरेको पीडित भागरथी वड दमाईको भनाई छ ।
‘म दमाईको छोराले वडको छोरी विवाह गरेकै कारण हामीलाई पनि बस्नै गा¥हो छ हजुर, कतिबेला मारेर चमेलीया फाल्छन भन्ने डर छ ।’–नरेशकी आमा मन्दोदरी दमाईले भनिन् ।
स्थानीय माहादेव मावि पंसेरामा निजी श्रोतको शिक्षक पदमा कार्यरत नरेस दामाईलाई ०७६ वैशाख १ गते विद्यालयबाट समेत निस्काशन गरेको पीडितको गुनासो छ ।
‘त्यस ठाउँमा मेरो एक्लो परिवार छ । वड समुदायको बाहुल्यता छ । त्यसैले गाउँपालिका र जनप्रतिनिधिहरूले पनि मेरो समस्यालाई बुझ्नुभन्दा पनि उनीहरूले नै भनेको कुरा मान्छन् ।’–पीडित भागरथीले भनिन् ।
हाल नरेश, नरेशकी पत्नी भागरथी, नरेशकी आमा मन्दोदरी र तीन छोराछोरी गाउँबाट विस्थापित भएर सदरमुकाम बसिरहेका छन् ।

इन्सेकद्वारा पीडितलाई सहयोग
अन्तरजातीय विवाहका कारण गाउँमा बस्ने वातावरण नभएपछि सिङ्गो परिवार न्याय माग्न सदरमुकाम आएका पीडित परिवारलाई पीडित सहयोग कार्यक्रम अन्तर्गत इन्सेकले आर्थिक सहयोग गरेको छ ।
इन्सेक प्रतिनिधि नरी बडुले पीडित परिवारका सदस्य नरेश दमाईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोगपछि पीडित नरेश दमाईले सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनुका साथै न्यायका लागि थप पहल गरिदिन आग्रह समेत गरेका छन् ।

शिक्षण पेशा गर्दै आइरहेकोमा विद्यालयबाट निस्काशन गर्नुका सथै स्थानीयले परिवारमाथि समेत कुटपिट गर्ने भएकाले आपूm गाउँमा बस्न नसेकेको उनको भनाई छ ।
आफ्नै घरमा समेत सुखले बस्न नमिलेपछि न्यायका लागि सदरमुकाम आउनुपरेको पीडित भागरथी वड दमाईको भनाई छ ।
एक्लो परिवार भएकाले आपूmहरूमाथि स्थानीय वड समुदायका व्यक्तिले विभिन्न समयमा हिंसा गर्ने गरेको उनको भनाई छ । एक महिना देखि न्याय खोज्दै सदरमुकाम पसेका उनी र उनको परिवारलाई अहिले खान बस्न समेत समस्या भएको छ ।