२५ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका–४ बसाहाका २४ वर्षीय रुद्रबहादुर खड्कालाई जिल्ला अदालतले जेठ ९ गते ३ वर्ष ६ महिना कैद, ५० हजार रुपियाँ क्षतिपूर्ति र ३५ हजार रुपियाँ जरिवाना भराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गरी यस्तो फैसला सुनाएको हो । अदालतले वैशाख २९ गते कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ ९ गते पुनः पेसी तोक्ने गरी आदेश दिएको थियो ।
पीडित महिलालाई खड्काले ०७५ फागुन १२ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय बेल्टारमा फागुन १३ गते उजुरी दिएका थिए ।
उजुरी लगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कारवाही अघि बढाएकोमा जिल्ला अदालतको चैत ८ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १३ गते गरिएको थियो ।