INSEC Online

📅 २०८३ जेष्ठ २२

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

दाइजो नल्याएको आरोपमा जानकी गाउँपालिका–३ की २१ वर्षीया निरा बर्माको हत्या गरेको आरोपमा माइती पक्षले २५ वर्षीय पति राममनोहर कुर्मीलाई कारवाही गर्न माग गरेको छ ।

मृतकका माइती पक्षले जेठ ९ गते नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै ‘ज्वाँइ’ले छोरीको हत्या गरेको आरोप लगाएको छ ।

मृतकका बुबा राधेश्याम कुर्मीले १ लाख रुपियाँ र मोटरसाइकल दाइजो नल्याएको भन्दै छोरीको हत्या गरेको दावी गरेका थिए ।

०७२ वैशाखमा विवाह भई ०७५ वैशाखमा गौनाथौना गरी पतिसँग बस्दै आएकी निरा बर्मा जेठ २ गते घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

‘ज्वाँइले १ लाख रकम र मोटरसाइकल ल्याउन दबाब दिइरहेको र बेलाबेला छोरीलाई कुटपिट गरिरहन्थे ।’–राधेश्यामले भने ।

पीडित पक्षले हत्यामा अरुको पनि संलग्नता हुन सक्ने भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

दाइजोमा १ लाख रुपियाँ र मोटरसाइकल नदिएको आरोपमा  शारीरिक र मानसिक यातना दिएको छोरीले बताएपछि माइती पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेवा केन्द्र उजुरी दिएको थियो ।

राममनोहर कुर्मीले छोरीसँग झैझगडा नगर्ने प्रतिवद्धता जनाएर मिलापत्र भएको राधेश्यामले बताए । मृतक पक्षले हत्या गरेको भन्दै जेठ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम जेठ ३ गते भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आरोपित राम मनोहरलाई जेठ ३ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको एसपी अरुण पौडेलले बताए ।

अन्य

भिडियो