गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका ६५ वर्षीय नरुङ तामाङको हत्या गरेको आरोपमा जिल्ला कारगारमा पुर्पक्षका लागि थुनामा रहेका गङ्गाजमुना गाउँपालिका–२ लताबमाका २६ जनालाई धादिङ जिल्ला अदालतले जेठ ७ गते कैद सजाय सुनाएको छ ।
तामाङद्वय झाँक्रीलाई हत्या गरेको कसुरमा न्यायधीश प्रकाश ढुङ्गानाको इजलासले ११ जनालाई जन्मकैद, ११ जनालाई ५ वर्ष ६ महिना कैद, एक जनालाई ३ वर्ष ६ महिना कैद र तीन जना बालकलाई ३ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको हो ।
४९ वर्षीय भिमबहादुर तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, ३६ वर्षीय रामबहादुर तामाङ, ३४ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, १८ वर्षीय अमित तामाङ र २३ वर्षीय विशाल तामाङलाई सो फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए ।
यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय विरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्र्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही ५ वर्ष ६ महिना कैद गर्ने फैसला भएको छ ।
१७ वर्षीय तीन जनालाई ५ वर्ष कैद हुनेमा बालक भएकोले सो सजायको बालक भएका कारण दुई तिहाइ अर्थात ३ वर्ष ८ महिना कैद गर्ने फैसला गरिएको छ ।
५६ वर्षीय बलबहादुर तामाङ मतियारको रूपमा झाँक्रीहरू मार्नका लागि कटुवाल कराएर गाउँबासी जम्मा पारेकोले ३ वर्ष ६ महिना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ ।
कैद गर्न फैसला सुनाइएका सबैजना जिल्ला कारागारमा ०७५ भदौ ११ गते देखि पुर्पक्षका लागि थुनामा थिए ।
सोही दिन शुशिना तामाङ, असारमाया तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई साधारण तारेखमा छाडिएको थियो । उनीहरू जिल्ला अदालतको फैसला बमोजिम निर्दाेष रहेकाले सफाइ दिएको छ ।
गाउँमा झाँक्री लागेर गाउँबासीलाई दुःख दिएको आरोमा ०७५ साउन ५ गते गाउँबासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही ठाउँका ६५ वर्षीय नरुङ तामाङको हत्या गरिएको थियो ।