१५ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई प्रहरीले जेठ ६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले वैशाख ८ गतेबाट बालिका हराएको भन्दै वैशाख ९ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि पीडित पक्षले वैशाख १३ गते ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीको एउटा घरमा पीडित बालिकालाई बन्धक बनाइ छोडेको अवस्थामा बालिका फेला पारेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।
पीडित बालिकालाई बलात्कार गरी फरार रहेको भन्दै आरोपितविरूद्ध पीडित पक्षले वैशाख १३ गते अपहरण, बन्धक तथा बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
उक्त उजुरीको आराधारामा प्रहरीले आरोपितलाई जेठ ६ गते महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीबाट गिरफ्तार गरेको डिएसपी मिश्रले बताए ।
पीडित बालिकालाई आरोपितले वैशाख ८ गते दिउँसो ललितपुरको थसिखेलबाट मोटर साइकलमा राखी जनकपुर, जलेश्वर, इटहरीलगायतका जिल्लाहरूमा लगि बलात्कार गरेको खुल्न आएको प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १३ गते पाटन अस्पताल ललितपुरमा गरिएको छ ।