INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा शिक्षक नहुँदा बालबालिकाले पढन पाएनन्

छायाँनाथ रारा नपा–६ रञ्जनबालैको दलित बस्तिमा रहेको विद्यालयमा ०७५ चैत  १५ गतेदेखि शिक्षक  नहुँदा सो गाउँका बालबालिका पढ्नबाट वञ्चित भएका छन् ।

छायाँनाथ रारा नपा–६ रञ्जनबालैमा १७ घरधुरीे दलित बस्ति रहेको बस्तिका २१ जना बालबालिका सोही गाउँमा रहेको कक्षा तीनसम्म पढाई हुने श्री महादेव आधारभुत विद्यालयमा पढ्ने गरेका थिए ।

०७५ चैत १४ गतेसम्म पढाउँदै आएका अस्थायी शिक्षक कमल नेपाली शिक्षा आयोगले लिएको परीक्षामा पास हुन नसकेपछि चैत महिनाबाट विदा भएपछि सो पदमा छायाँनाथ रारा नगरपालिकाको शिक्षा शाखाले अर्को शिक्षक नियुक्ति नगर्दा बालबालिका पढ्नबाट बञ्चित भएका हुन् ।

विद्यालयमा एक जना शिक्षक र एक जना बाल शिक्षिकाको दरबन्दी छ । शिक्षक कमल नेपाली विदा भएपछि विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाको अघिल्लो शैक्षिक सत्रको परीक्षाफल समेत प्रकाशित भएको छैन । साथै यो शैक्षिक सत्रको भर्ना समेत भएको छैन ।

विद्यालयमा कक्षा तीनसम्म मात्र पढाई हुने भएकाले चार कक्षामा पढ्न जाने बालबालिकाहरूले पास भएको मार्कसिट र प्रमाणपत्र नपाउँदा अर्को विद्यालयमा समेत भर्ना हुन नसकेको अभिभावकको गुनासो छ ।

विद्यालयमा कार्यरत् बाल शिक्षिका माया नेपालीले सो बस्तीको बाल शिक्षामा पढ्ने बालबालिकालाई जम्मा पारेर विद्यालयको बालविकास केन्द्रको कक्षामा पढाउने गरेको भएपनि उनीहरूको भर्ना अझै हुन नसकेको बताउँछिन् ।

शिक्षक नभएपछि कक्षा एकदेखि तीनसम्मका अन्य विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरू भएको एक महिना बितिसक्दा समेत पढ्न नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्ख नेपालीले बताए ।

अघिल्लो वर्षको चैत महिनादेखि विद्यालयमा शिक्षक नहँुदा बालबालिकाले पढ्न नपाएपछि तत्कालै शिक्षक नियुक्ति गरिदिनका लागि छायाँनाथ रारा नगरपालिका र जिल्ला शिक्षा समन्वय एकाईमा लिखित जानकारी गराएको समेत अध्यक्ष नेपालीले बताए ।

सो विद्यालयमा पदपुर्तिका लागि अर्को विद्यालयबाट शिक्षक काजमा पठाउन खोज्दा जान नमानेकाले पदपुर्ति गर्न ढिलाई भएको छायाँनाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख गोविन्द ढकालले जानकारी दिए ।

उनले भने–‘केही दिनभित्रै अर्को विद्यालयबाट केही समयका लागि एक जना शिक्षकलाई काजमा खटाई शिक्षक पदपुर्ति गरिने छ ।’

अन्य

भिडियो