ज्येष्ठ नागरिकहरुले राज्यबाट प्राप्त हुने सेवा सुविधा अन्तरगत सार्वजनिक यातायातमा पाउनुपर्ने छुट परिचयपत्र देखाउँदा पनि नपाएको गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक कल्याण ऐनमा भएको व्यवस्था अनुसार सार्वजनिक यातायातको क्षेत्रमा ५० प्रतिशत सहुलियत हुने व्यवस्था गरेको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझीले जान्ने सुन्ने व्यक्तिले केही सुविधा पाए पनि आम रूपमा ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सेवा सुविधा प्राप्त गर्न नसकेको बताए ।
राज्यले सेवा सुविधा पाए वा नपाएको प्रभावकारी अनुगमन गर्न नसकेका कारण ज्येष्ठ नागरिकले समस्या व्यहोर्नु परेको उनको भनाई छ ।
त्यसैगरी ताराप्रसाद पौडेलले सार्वजनिक यातायातमा अहिलेसम्म सुविधा नपाएको गुनासो गरे । उनले ज्येष्ठ नागरिकले परिचयपत्र देखाउँदा समेत सार्वजनिक यातायात व्यवसायीले छुट नदिएको गुनासो गरे ।
ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष मिनबहादुर रिजालले नीति र कानुनमा भएको व्यवस्था राज्यले कार्यान्वयन गराउन नसक्दा समस्या व्यहोर्नु परेको पनि बताए ।
ज्येष्ठ नागरिकका सम्बन्धमा संविधान र कानुनमा भएको अधिकार कार्यान्वयन गराउन र ज्येष्ठ नागरिकको सार्वजनिक यातायातमा सेवा सुविधा प्राप्त गराउनको लागि सबै पक्षसँग छलफल गरी कार्यान्वयन गराउने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद बेल्वासेले प्रतिबद्धता जनाए । उनले ज्येष्ठ नागरिकहरूको अधिकार सम्बन्धमा स्थानीय तहमा पनि कार्यान्वयन गराउन छलफल गरिने बताए ।