नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष माडी गाउँपालिका–६ का ३३ वर्षीय मानसिंह बिकमाथि आक्रमणको प्रयास गरेको आरोपमा प्रहरीले वैशाख २७ गते सोही गाउँपालिका–४ का ४५ वर्षीय निमबहादुर परियारलाई गिरफ्तार गरेको छ ।
संयुक्त दलित जनअधिकार मञ्चका जिल्ला सचिवसमेत रहेका अध्यक्ष बिक माडी गाउँपालिका–४ तालाबाङमा जातीय छुवाछुतसम्बन्धी प्रशिक्षण दिएर लिबाङतर्फ फर्कँदै गर्दा वैशाख २६ गते आरोपित निमबहादुर परियारले ढुङ्गा प्रहार गरेको भन्दै वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
मदिरा सेवन गरेका परियार कार्यक्रममा गएर हल्ला गरेपछि प्रशिक्षक बिकले हल्ला नगर्नुहोस् अरुलाई सुन्नमा समस्या भयो तपाईको कुरा पछि राख्नु होला, सुन्न मन छैन भने बाहिर जानुहोस् भनी अनुरोध गर्दा उनी तथानाम बोल्दै बाहिर निस्केको बिकले बताए ।
त्यहि रिसमा उनले कार्यक्रम स्थलभन्दा पर गहिरामा बसेर मोटर साइकलमा फर्कँदै गरेका बिकलाई परियारले ढुङ्गा प्रहार गरेको पीडितले बताए ।
आरोपितलाई उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले बताए ।