सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रड र खुँडा प्रहार गरी घाइते पारेका छन् ।
आफ्नो पार्टी कार्यकर्तालाई कुटपिट गरेको भन्दै समूहमा आएका नेकपाका कार्यकर्ताले श्रेष्ठलाई टाउकोमा रड प्रहार गरी घाइते बनाएका हुन् ।
श्रेष्ठलाई कुटपिट गरी घाइते पारेपछि नेकपाका कार्यकर्ता भागेको र घाइते श्रेष्ठलाई गाउँबासीको सहयोगमा उद्धार गरी २२ गते नै काठमाडौँस्थित ट्रमा सेन्टरमा लागी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानाकारी दिए ।
कुटपिटपछि फरार रहेका नेकपा कार्यकर्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।