INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

दाइजो नल्याएको आरोपमा २५ वर्षीया रूक्सरा कुरैसीको वैशाख १९ गते २८ वर्षीय पति आलम कुरैसीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

नेपालगन्जमा वैशाख २३ गते पत्रकार सम्मेलन गर्दै मृतक रूक्सराका बुबा इस्लाम अहमद कुरैसीले दाइजो नपाएको भन्दै छोरीको हत्या गरेको आरोप लगाएका हुन् ।

भारत नारापारा घर भई कैलाली जिल्ला गोदावरी नपास्थित अत्तरियामा डेरा गरी बस्दै आएक रूक्सरा वैशाख १९ गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घरपरिवारले ३ लाख रुपियाँ र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेको मृतकका बुवाले बताए ।

ज्वाँईले भने अनुसार जग्गा बेचेरै भए पनि ३ लाख रुपियाँ र मोटरसाइकल दाइजो दिने तयारी गरेकै बेला छोरीको हत्या गरेको कुरैसीले बताए ।

‘हत्या भएको एक घण्टाअघि छोरीसँग कुराकानी गर्दै म भोलि नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि ३ लाख रुपियाँ र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नु भनेको थिएँ ।’–पत्रकार सम्मेलनमा इस्लामले भने । उनले केही घण्टापछि फेरि फोन गर्दा छोरीले झुण्डिएर आत्महत्या गरेको जानकारी पाएको बताए ।

नौ महिनाअघि आलमसँग उनको विवाह भएको थियो । माइती पक्षका अनुसार घरपरिवारले दैनिक मानसिक तनाव दिइरहे पछि रूक्सराले दुई दिनदेखि खाना समेत खाएकी थिइनन् ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा हत्या गरेको भन्दै वैशाख २० गते उजुरी दिएको मृतकका बुवाले बताए । शवको पोष्टमार्टम वैशाख २० गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो