INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी घरनिकाला गरेको भन्दै पतिविरूद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नपा–१ की २० वर्षीया गिताकुमारी जैसीलाई ३२ वर्षीय पति दानबहादुर शाहीले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दर्ता गराएकी छन् ।

सान्नीत्रिवेणी गाउँपालिका–१ माइती घर भएकी जैसीलाई तीन महिनाको छोरा सहित पतिले घर निकाला गरेको पीडित पक्षको आरोप रहेको छ ।

खाँडाचक्र नपा–१ मान्म बजारमा लामो समयदेखि व्यवसाय गर्दै आएका शाहीले जेठी पत्नीलाई क्यान्सर भएको भन्दै ढाँटेर विवाह गरेको र छोरा जन्मेपछि घर निकाला गरेको पीडित जैसीले आरोप लगाएकी छन् ।

‘मसँग जेठी पत्नीको पाठेघरमा क्यान्सर भएको भनेर ललाई फकाई विवाह गरे ।’–उनले भनिन्–‘अहिले घर निकाला गरेका छन् ।’

जैसीले आपूmलाई विवाह गर्नका लागि जेठी पत्नी रञ्जना शाहीले समेत फकाएको बताइन् । ‘मलाई विवाह गर्न शाहीकी जेठी पत्नी समेतले दबाव दिइन् ।’–उनले भनिन्,–‘तर विवाह भइसकेपछि कहिले बोक्सीको आरोप लगाउँदै कुट्ने कहिले अरु नै निहुँमा कुट्ने गरे ।’

शाहीले विवाहबाट बच्नका लागि जैसीसँग पसल गर्न घरभाडा दिएको भन्ने कागज लेखी औँठाछाप समेत गर्न लगाएको जैसीले बताइन् । ‘झुठा विवरण बनाई कागजमा सहीछाप गर्न लगाए ।’–जैसी भन्छिन् ।

घरभाडाको कागजमा मासिक १ हजार ५ सय भाडा र २०७५ साल जेठ ३० गरिएको सम्झौता असार १ बाट लागु हुने उल्लेख गरिएको छ ।

पीडितले उजुरी दिएपछि घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले बताए ।

छोरा जन्मिएपछि छोराको जन्मदर्ता जेठी पत्नी रन्जना शाहीको नामबाट दर्ता गराएको र सोही पश्चात् घरमा विवाद भएको जैशीले बताइन् ।

अन्य

भिडियो