नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरू जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा छुटेका तीन जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वैशाख १६ गते चितवन अदालतको आदेशले साधारण तारेखमा ६ जना कार्यकर्ता छुटेका थिए ।
जसमा विरबहादुर तामाङ विरु, शिव गौतम रणदीप र पूर्णबहादुर राई पुरन अदालतको आदेशले साधारण तारेखमा छुटेलगत्तै गिरफ्तार भएका हुन् ।
चितवन अदालतको वैशाख १७ गतेको आदेशबाट उनीहरू छुटेकोमा सोही दिन बेलुकी पुनः गिरफ्तार भएका हुन् ।
फागुन २८ गते राति भरतपुर महानगरपालिका–५ को कार्यालयमा सिलिण्डर विस्फोट भएपछि प्रहरीले चितवनमा सक्रिय सो पार्टीका कार्यकर्ता गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
गिरफ्तारीमा परेका कोहीबाट पनि त्यस घटनामा संलग्नता नभेटिएपछि अदालतले साधारण तारेखमा छाडेको थियो ।
उनीहरूलाई हाल अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
यसअघि उनीहरूमाथि बम विस्फोट, आगजनी र सङ्गठित अपराध मुद्दा दर्ता भएको थियो । यस्तो गम्भीर अपराधमा पनि उनीहरूको संलग्नता पुष्टि नभएपछि अदालतले साधारण तारेखमै उनीहरूलाई छाडेको थियो ।