INSEC Online

📅 २०८३ जेष्ठ २२

सुत्केरी महिलाले पाएनन् प्रसूति प्रोत्साहन भत्ता

तातोपानी गाउँपालिका स्थित हाँकु, लाम्रा र तातोपानी स्वास्थ्य चौकी अन्तर्गत प्रसूति गृह(बर्थिङ सेन्टर) मा सुत्केरी भएका महिलाले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।

सुत्केरी भएको हप्ता दिनभित्रै पाउनु पर्ने प्रोत्साहन भत्ता आठ महिनासम्म प्राप्त गर्न नसकेको उनीहरूको गुनासो छ ।

राज्यले बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई प्रोत्साहन गर्नका लागि भत्ताको व्यवस्था गरेको छ । तर, सुत्केरी भएको आठ महिनाका पुगिसक्दा पनि प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।

तातोपानी गाउँपालिका–६ रावतवाडाकी खुम्बिरा रावत लाम्रा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा ०७५ भदौ २३ गते सुत्केरी भएकी हुन् । उनले तत्काल पाउनु पर्ने प्रसूति प्रोत्साहन भत्ता अहिलेसम्म पाउन सकेकी छैनन् ।

तातोपानी गाउँपालिका–५ लाम्राकी कमलदेवी खत्री लाम्रा स्वास्थ्य चौकीको प्रसूति गृहमा ०७५ फागुन २९ गते सुत्केरी भएकी हुन् । उनले अहिलेसम्म प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो गरिन् ।

त्यसैगरी लाम्रा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा चैत महिनासम्म १७ जना सुत्केरी भएका छन् । त्यस मध्ये १३ जनाले चार, ६, आठ र नौ महिना नियमित गर्भ चेकजाँच गरेका छन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य उपसंयोजक गुरुप्रसाद उपाध्यायका अनुसार प्रसूति प्रोत्साहन भत्ताको निकासा आएको छ ।

‘अब स्वास्थ्य चौकीको खातामा निकासा भइसकेकोले चाँडै वितरण हुँदैछ । प्रसूति प्रोत्साहन भत्ता सहित अन्य रकम केन्द्रबाटै ढिला आएकाले समस्या भएको हो ।’–उनले भने ।

बच्चा जन्मेको आठ महिनापछि प्रसूति प्रोत्साहन भत्ता
पातारासी गाउँपालिका स्थित डिल्लीचौर र छुमचौर स्वास्थ्य चौकी अन्तर्गत बर्थिङ सेन्टरमा सुत्केरी आमाले प्रसूति प्रोत्साहन भत्ता आठ महिनापछि पाएका छन् ।

चालु आर्थिक वर्षको साउन महिनादेखि सुत्केरी भत्ता नपाएका महिलाले आठ महिनापछि प्राप्त गरेका हुन् ।

स्वास्थ्य संस्थामा सुत्केरीको संख्या बृद्धि गर्ने, बच्चा तथा आमाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राज्यले प्रसूति प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।

डिल्लीचौर स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको साउन महिनादेखि प्रसूति भएका ३३ जना आमाहरूले प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् भने नियमित चार पटक (चार, छ, आठ र नौ) महिना गर्भ चेकजाँच गराए बापत पाउनु पर्ने थप ८ सय रुपियाँ १५ जना महिलाहरूले पाएका छन् ।

राज्यले प्रति सुत्केरी महिलालाई प्रोत्साहन भत्ता ३ हजार रुपियाँ र नियमिति गर्भ चेकजाँच गर्ने महिलालाई ८ सय रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको छ ।

अन्य

भिडियो