मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दाहाल दुलाललाई वैशाख १३ गते बिहान हत्या गरेको आरोपमा २८ वर्षीय पति सुदिप दुलाललगायत परिवारका सदस्यलाई कडा कारवाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले वैशाख १७ गते दिउँसो धुलिखेलमा प्रदर्शन गरी जिल्ला प्रहरी कार्यालयको गेटमा घेराऊ गरे ।
आफ्नो बहिनीलाई हत्या गरेको भन्दै मृतकका दाजू मण्डन देउपुर नगरपालिका–४ चैनपुरका ४० वर्षीय कृष्णप्रसाद दाहालले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी प्रहरीले वैशाख १५ गते दर्ता गरेको दहालले बताए ।
प्रहरीले मृतकका पतिलगायत ६० वर्षीया सासू गङ्गा दुलाल, ६३ वर्षीय ससुरा पिताम्बर दुलाल, ३८ वर्षीय जेठाजू केशव दुलाल र ३३ वर्षीया जेठानी सङ्गीता दुलाललाई वैशाख १४ गते गिरफ्तार गरेको हो ।
वैशाख १४ गते शिक्षण अस्पतालमा शवको पोष्टमार्टम गरिएपछि आफन्तहरूले शव बुझेर वैशाख १६ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन् ।
गाँजाका ‘एडिक्ट’ मृतकका पति सुदिपले रबरको गुलेलीले घाँटी अठ्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनलाई ६ महिनाअघि सुधार गृहबाट घरमा ल्याइएको थियो । आरोपितहरू एउटै कच्चि घरमा तीन तिर चुलो बनाएर बसेकाले सबैको मिलेमतोमा हत्या गरेको हुनसक्ने स्थानीयले आरोप लगाएका छन् ।
उक्त प्रदर्शनमा सांसद गोमा भुर्तेललगायत मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, मण्डन देउपुर, बनेपा, धुलिखेल र पाँचखाल नगरका उपप्रमुखलगायत नेकपाका नेताहरू सहभागी भएका थिए ।
प्रदर्शनपछि धुलिखेल जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले अनुसन्धानमा प्रहरीले कुनै कसरत बाँकी नराख्ने बताए ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले अनुसन्धानमा सत्य तथ्त्य छुट्याई घटनामा संलग्न कसैलाई पनि नछोड्न प्रहरीलाई अनुरोध गरे ।





