INSEC Online

📅 २०८३ जेष्ठ २२

कैदी बन्दीको गुनासो–‘कोल्टे नफर्किकन रात बित्छ’

महान्यायाधिवक्ता अग्नि खरेल वैशाख १६ गते दिउँसो गुल्मी कारागार आए । कारागारको सवै अवस्थाको बारेमा अवलोकलन गरे । कैदीबन्दीको काम देखेर छक्क परे । अनि कारागार प्रमुख अर्जुन थापालाई सोधे–‘कारागारको क्षमता कति हो ?’

थापाबाट जबाफ आयो–‘२५ जना ।’ अनि खरेलले फेरि सोधे–‘कति जना छन् ?’ थापाले जबाफ फर्काए–‘७१ जना ।’

खरेलले चारैतिर नियाल्दै भने–‘यो कारागार अलिक विषेश रहेछ । अन्यत्र झन् बिजोग छ ।’ त्यसपछि महान्याधिवक्ता खरेलले कैदीबन्दीसँग अन्तरसंवाद सुरू गरे ।

क्रमैसँग राज्यले कारागारबाट प्रदान गर्ने सेवा सुविधाका बारेमा सोधे । खरेलले कारागारको समस्याको बारेमा आफ्नो ध्यानाकर्षण भएकाले सम्बन्धित निकायबाट समाधानको विकल्प खोजिने बताए ।

महान्याधिवक्ता अग्नि खरेलले कैदीबन्दीहरूसँग अन्तरसंवाद गर्दै आफ्नो मुद्दाको विषयमा वकिलमार्फत कानुनी उपचार खोज्न आग्रह गरे ।

उनले आफूहरुलाई अदालतमा के बोल्ने र कानुनी विषय के भन्ने बारेमा जानकारी नहुने भएकाले वैतनिक वा प्राइभेट वकिलमार्फत अघिल्लो प्रक्रिया खोज्न सुझाव दिए ।

‘कैयौँ व्यक्तिलाई आफ्नो मुद्दा र कानुनी प्रक्रियाको बारेमा अवगत छैन ।’–उनले भने–‘वकिलले कानुनी उपचार गराउँछन् ।’ उनले कानुनी अज्ञानताले पनि थुप्रै मान्छे फस्ने भएकाले सबैलाई सचेत बनाए ।

महान्याधिवक्ता अग्नि खरेलले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत अनुगमन तथा निरीक्षण गरेका छन् ।

उनले हिरासतमा रहेकाहरूको मुद्दा र कानुनी उपचार, सेवा सुविधा, यातना तथा अन्य प्रक्रियाको बारेमा चासो राखेका थिए ।

साथै उनले हिरासतबाटै मुद्दाको प्रक्रिया सुरू हुने भएकाले आफूले विश्वास गरेकै कानुन व्यावसायीमार्फत मुद्दा अगाडि बढाउन सुझाव दिए ।

उनले सुरूमै मुद्दा बिग्रिए न्याय नपाइने भएकाले बिचार पु¥याउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयको तर्फबाट एसपी दिपककुमार बस्नेतले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

‘कोल्टे नफर्किकन रात बित्छ ।’–जिल्ला कागागार गुल्मीका कैदी लेखनाथ गिरीले भने–‘२५ जना बस्ने घरमा ७१ जना । आफैँ कल्पना गर्नुस् ।’

जिल्ला कारागारको अनुगमन गर्न आएका महान्याधिवक्ता अग्नि खरेललाई यहाँका कैदीबन्दीले आफ्ना गुनासा यसैगरी पोखे ।

उनीहरूले क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कारागार ‘भेडिगोठ’ जस्तै भएको गुनासो गरे । कैदी गिरीले अहिलेसम्म आफूहरूको गुनासो सुन्ने काम मात्रै भएको बताए ।

‘जुनसुकै कार्यालयबाट प्रतिनिधि आएपनि सुनासो मात्रै सोधिएको छ ।’–उनले भने–‘कारागारको वर्षौँका समस्या ज्यूँका त्यूँ छन् ।’

कैदी बाबुलाल बिकले आफूहरू अदालतको झञ्झटिलो प्रक्रियाबाट आजित भएको गुनासो गरे । उनले समयमै पेशी नहुने, फैसला भएको मिसिल लामो समयसम्म प्राप्त नहुने जस्ता समस्याले पिरोल्ने गरेको गुनासो गरे ।

‘वर्षौँ फैसलाका फाइल पाएका छैनौँ । अदालतको प्रक्रियाले आजित भएका छौँ ।’–उनले भने–‘जसका कारण समयमा नै माथिल्लो कानुनी उपचारबाट वञ्चित हुनुपरेको छ ।’

बन्दी विष्णु पन्तले खानेपानीको सङ्कटका कारण आफूहरूलाई समस्या भइरहेको बताए । उनले कारागारले टयाङकरमार्फत पानी ल्याउने गरेपनि पर्याप्त नभएको बताए ।

photo20190429gulmi (1)

photo20190429gulmi (2)

photo20190429gulmi (3)

photo20190429gulmi (4)

photo20190429gulmi (5)

अन्य

भिडियो