सत्य निरूपण तथा मेलमिलाप आयोगले हालसम्म गरेका कार्यहरू समेटेर सरकारलाई प्रतिवेदन बुझाएको छ ।
वैशाख ११ गते सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोगले हालसम्म गरेका कामहरूको विवरण सहितको प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो ।
मन्त्री ढकाललाई बुझाइएको आयोगको प्रतिवेदनमा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि परेका उजुरीहरूको विवरण पनि उल्लेख गरिएको छ ।
हाल पदाधिकारीविहीन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरूको टोलीले मन्त्री ढकाललाई बुझाएका थिए ।
चैत मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिए ।
आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कागजातहरूको सुरक्षाको उचित व्यवस्था गर्न आयोगका कर्मचारीहरूलाई निर्देशन दिए ।
आयोगका निमित्त सचिव भट्टराईले सत्य निरूपण तथा मेलमिलापको कामलाई जिम्मेवारीपूर्वक सम्पन्न गर्ने गरी काम गर्न पनि मन्त्री ढकालले निर्देशन दिएको बताए ।