INSEC Online

📅 २०८३ जेष्ठ २२

सरकारले दिने अनुदानमा वास्तविक किसान वञ्चित

सरकारले दिने अनुदानमा वास्तविक किसान बञ्चित हुने गरेको भन्दै जिल्लाका कृषकहरूले गुनासो गरेका छन् ।

सरकारले प्रदान गर्ने सेवा सुविधामा पहुँचवाला व्यक्तिहरूको सम्बन्धका कारण विभिन्न खाले अनुदानको सुविधा वास्तविक किसानसम्म पुग्न नसक्दा कृषिले जीवनस्तर उकास्न नसकेको गुनासो स्थानीयको रहेको छ ।

पहुँचका आधारमा ठुलाबडाले राज्यबाट पाउने सेवासुविधा लिने र आफूहरूले कृषि क्षेत्रमा काम गरे पनि जानकारी र सहयोग दुवै नपाउने गरेको वालिङ नपा–१० का सुन्तला कृषक राजेन्द्र गैह्रे गुनासो गर्छन् ।

गैह्रे भन्छन्–‘सरकारले वास्तविक कृषकको पहिचान गरेर मात्रै अनुदान लगायतका कार्यक्रम ल्याउन आवश्यक छ । टाठा–बाठाले मात्रै सरकारले दिने सेवा सुविधा लिएका छन् । यो कुरा जायज होइन । हातको नङ्ग्रा खियाउने किसान आफूले पाउने अनुदानका बारेमा अनविज्ञ हुँदा मारमा परेका छन् ।’

भीरकोट नपा–५ का रुद्रबहादुर मल्ल कृषि उपजहरू बिचौलियाको हातमा पर्दा कृषकले मेहनत अनुसारको मुल्य पाउन नसकिएको गुनासो गर्छन् ।

जिल्लामा कोल्ड स्टोरको व्यवस्था नहुँदा आफैँले ३० रुपियाँमा बेचेको सुन्तला फेरि आफैँले १ सय ५० रुपियाँमा किनेर खानु पर्ने अवस्था रहेको मल्लको भनाई छ ।

जिल्लाका दुर्गम क्षेत्रमा सरकारले लागु गरेका नीति नियम कार्यान्वयन नहुँदा सहुलियत ऋणको नीति कार्यान्वयनमा आउन नसकेको बाख्रागाउँ अभियानका अध्यक्ष शुसील शर्मा बताउँछन् ।

वास्तविक किसानले सामान्य सेवा सुविधा लिनुपर्ने प्रक्रियाका बारेमा समेत थाहा नहुँदा कृषकलाई तल्लो तहबाटै सचेत बनाउनुपर्ने शर्माले बताए ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका अधिकृत लोकेन्द्र बोहोराले सरकारले ल्याएका सेवा सुविधा र अनुदान सकेसम्म वास्तविक किसानसम्म पुगोस भन्नेमा आफूहरू सचेत रहेको बताए ।

कार्यालयले निकालेका सूचना सबै कृषकमाझ पुर्‍याई अनुदानमा सहयोग गर्नेमा आफूहरू प्रतिबद्ध रहेको बोहराले बताए ।

अन्य

भिडियो