INSEC Online

📅 २०८३ जेष्ठ २१

एक सातादेखि गुल्मी अस्पतालको ओपिडी सेवा ठप्प, बिरामी मर्कामा

दैनिक १ सय ५० देखि २ सय बिरामीको उपचार हुने गुल्मी अस्पताल एक सातादेखि बन्द रहेको छ । जसका कारण बिरामी सेवाग्राही मर्कामा परिरहेका छन् ।

गुल्मी र अर्घाखाँचीका अधिकांश स्थानका नागरिकले अस्पतालबाट सेवा लिने गरेका थिए । डाक्टरहरूको आन्दोलनका कारण अस्पतालको ओपिडी सेवा बन्द भएपछि सेवाग्राही नागरिक घर फर्कन तथा मेडिकलहरूमा चर्को मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् ।

आठ महिनाकी गर्भवती धुर्कोट गाउँपालिका–५ बस्तुकी २० वर्षीय बसन्ती सुनार बिहानै गुल्मी अस्पताल आइन् । उनलाई कसैले पनि भनेन डाक्टरूको हड्ताल छ भनेर ।

‘अस्पतालको टिकट काउन्टर आएपछि पत्तो पाएँ । दुख मात्रै भयो ।’–उनले भनिन्–‘गर्भ परीक्षणको लागि आएको हो ।’

त्यस्तै छोरी बिरामी भएर आएकी धुर्कोट गाउँपालिका–३ हाडहाडेकी निर्मला जिसी पनि अस्पताल गेटबाटै फर्किन् ।

उनले नजिकैको निजी मेडिकलमा स्वास्थ्य जाँच गराएर फर्किएको बताइन् । ‘सरकारी अस्पताल हुँदाहुँदै निजीमा जाँच गराउनुपर्ने कस्तो बिडम्बना ?’–उनले भनिन्–‘मर्नु भएन जसोतसो औषधि त लैजानैप¥र्यो ।’

अस्पतालको बहिरङ्ग सेवा बन्द भएपछि सयौँ बिरामी समस्यामा परेका छन् । भर्खरै सरकारले गरेको समायोजन प्रति असन्तुष्टी जनाउँदै डाक्टरहरूले सेवा ठप्प पारेका छन् ।

साथीको उपचारका लागि अस्पताल पुगेका रेसुङ्गा नगरपालिका–८ का सन्तोष पाण्डेले डाक्टरहरूको सकारसँगको लडाइँका कारण सर्वसाधरण नागरिक उपचारबाट वञ्चित भएको बताए ।

गुल्मीदरबार गाउँपालिका–४ की सिता सुनार पनि बिहानैदेखि अस्पतालको टिकट काउन्टरकै अगाडि थिइन् । १० बज्यो ढोका नै खुलेन । केही सीप नलागेपछि इमर्जेन्सीमा भर्ना हुनु परेको उनको गुनासो छ ।

नागरिक समाजका अध्यक्ष गुणानिधी शर्माले अस्पताल जस्तो सम्वेदनशिल ठाउँको आन्दोलनको विषयमा दुवै पक्ष लचिलो बन्नुपर्नेमा जोड दिए ।

आफ्ना माग राख्ने अधिकार लोकतन्त्रमा सबैको अधिकार भएपनि गरिव तथा बिपन्नको ज्याननै जोखिममा पार्न नहुने शर्माले बताए ।

आफूहरूलाई केन्द्र मातहत राखेर समायोजन गर्नुपर्ने सरकारी चिकित्सकहरूको माग छ । गुल्मी अस्पतालकी मेडिकल अधिकृत सोफिया थापाले आफूहरूले साङ्केतिक रूपमा पहिले पनि विरोध गरेको र त्यसको कुनै सुनुवाइ नभएपछि बाध्य भएर अस्पताल नै ठप्प गर्नुपरेको बताइन् ।

उनले अहिले आन्दोलनको स्वरूप फेरेर केहि बिरामीलाई अस्पतालको बाहिर राखेर पनि उपचार गरिएको बताइन् ।

अन्य

भिडियो