नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) जिल्ला अदालतले रिहा गर्न दिएको आदेश लगत्तै चैत्र २४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
राज्य विरूद्धको अपराध कसुर मुद्दामा गत फागुन २८ गते ललितपुरबाट गिरफ्तारीमा भएका उनलाई जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो ।
कार्कीविरूद्ध संखुवासभामा पनि हातहतियार तथा खरखजना अभियोगमा मुद्दा परेपछि सो विषयमा अनुसन्धान गर्न संखुवासभाबाट पत्र प्राप्त भएपछि सो पत्रको आधारमा उनलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी बसन्त कुमार लामाले जानकारी दिए ।