फलेवास नपाकी ३३ वर्षीय मुना नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पीडितका पति ३० वर्षीय मदन नेपालीलाई चैत २५ गते गिरफ्तार गरेको छ । चैत २४ गते बिहान सुत्केरी भएकी पीडितलाई आरोपितले राति ९ बजे चिर्पट प्रहार गरेका थिए । पीडितको टाउकोमा चोट लागेको छ । छिमेकीको सहयोगमा जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचार गरी थप उपचारका लागि चैत २५ गते दिउँसो पोखरा पठाइएको छ ।

पीडितको टाउकोमा गहिरो चोट रहेको र ३१ ओटा टाँका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । मादक पदार्थ सेवन गरेर घर आएका पतिले आफूमाथि हातपात गरेको पीडितले बताइन् । उनले भनिन् ‘कुटपिट त अरू बेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइनँ’ । छिमेकीहरूको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए । मजदुरी गरेर खाने परिवारका भएका कारण आफुहरूसँग उपचारका लागि आवश्यक रकम समेत नभएको बताउँदै पीडितले उपचारका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरिन् ।