छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
नगरपालिकाका मेयर हरिजङ्ग शाहीले हरेक काम गर्दा एकल ढङ्गले गर्न थालेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले चैत १० गतेदेखि नगरपालिकाको मुल गेट र अन्य फाँटमा तालाबन्दी गरेपछि नगपालिकाबाट प्रवाह हुने सबै काम ठप्प हँुदा सेवाग्राही मर्कामा परेका हुन् ।
१४ ओटा वडा रहेको सो नगरपालिका मातहतका अधिकांश वडा कार्यालयमा सचिवहरू नहुँदा जन्म, विवाह र मृत्यु दर्ताको सिफारिसको काम स्थानीयले नगरपालिकाबाटै लिने गरेका थिए ।
बन्दका कारण व्यक्तिगत घटना दर्ता गर्न र सिफारिस लिन आउने सेवाग्राही मर्कामा परेका हुन् । छाँयानाथ रारा नपा–४ का कलबहादुर भामले बुवाको मृत्यु दर्ता गर्न आएको भएपनि कार्यालयमा तालाबन्दी गरिँदा दुईदिनदेखि विवाद समाधान हुने दिन कुरेर बसेको गुनासो गरेका छन् ।
मेयर शाहीले प्रदेश सरकारको ऐन विपरीत नौ महिनासम्म पनि नगर सभा नबोलाएको, चार महिनादेखि नगर कार्यपालिका बैठक नबोलाएको, नगरको वार्षिक समीक्षा समेत नगरेकोलगायत ६ बुँदे माग पूरा नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने उपमेयर सुन्तला रोकायाले बताइन् ।
विद्यालयको कामको लागि नगरपालिका आउँदा नगरपालिकाको मुलगेटमै तालाबन्दी गरेपछि काम सम्पन्न नभई फर्किनु परेको छायाँनाथ रारा नपा–११ स्थित प्रभात माध्यामिक विद्यालय रोवाका शिक्षक मैनादल बुढाले बताए ।
नगरपालिकामा तालाबन्दी भएपछि मेयर र उपमेयर दुवै पक्षलाई छलफल गराउन खोजे पनि मेयर जिल्ला बाहिर गएका कारण छलफल हुन नसकेको जिल्ला प्रशासन कार्यालय, मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।
तालाबन्दीका बारेमा फोनमार्फत् जानकारी लिँदा मेयर शाहीले भने उपमेयर लगायतको समूहले अनावश्यक आरोप लगाएर विवाद सृजना गरिरहेको प्रतिक्रिया दिए ।
नगरपालिकामा तालाबन्दी भएपछि कर्मचारीहरू दिनभर बसेर काम नगरी घर फर्किनुपर्ने अवस्था रहेको छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परशुराम नेपालीले बताए ।