INSEC Online

📅 २०८३ श्रावण १२

जिल्ला प्रशासन कार्यालयद्वारा पुनः कर्फ्यु आदेश जारी

जिल्लाका विभिन्न स्थानमा दोस्रो दिन अर्थात् साउन १२ गते स्थानीय प्रशासनले पुनः कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु बिचमा पनि सडकमा स्थानीयहरु आउन थालेपछि साउन १२ गते विहान हटाएको कर्फ्यु  जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा दोस्रो दिन पुनः कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासन कार्यालयले जिल्लाका दक्षिणी सात बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालको आदेशअनुसार साउन १२ गते बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ ।

प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम १ हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने जनाएको छ ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र, नुनिया टोल बजार  तथा देवानगञ्ज बजार क्षेत्र रहेका छन्। आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर केही  प्रदर्शनकारी घाइते भएका छन । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

जयकृष्ण यादव

अन्य

भिडियो