INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालत परिसरबाटै विप्लवका कार्यकर्ता पुनःगिरफ्तार

राज्यविरूद्ध अपराधका गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा तीन जना कार्यकर्तालाई अदालतले धरौटीमा रिहा गरेकै दिन चैत १३ गते बेलुका जिल्ला अदालत परिसरबाट प्रहरीले पुनःगिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेहरूमा बलेफी गाउँपालिका–४ फुल्पीङकोटका रञ्जित भन्ने इन्द्रबहादुर ठकुरी, बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका सौगात भन्ने रेशम पौडेल र काभ्रे जिल्ला भुम्लु गाउँपालिका–१ सापिङका रतन भन्ने अजय श्रेष्ठ रहेका छन् ।

पुनःगिरफ्तार गरिएका तीन जना सँगै अन्य पाँच जनालाई पनि सिन्धुपाल्चोक जिल्ला अदालतको परिसरबाट प्रहरीले मोटरमा सँगै राखेर लगेकोमा उनीहरू परिवारको सम्पर्कमा पुगेको पीडित पक्षले जनाएको छ ।

परिवारको सम्पर्कमा पुग्नेहरूमा भोजपुर जिल्ला हतुवागढी–९ की १९ वर्षीया सुस्मिता भन्ने हिरा खत्री, सुनसरी जिल्ला इटहरी नगरपालिका–३ की १९ वर्षीया मनिषा भन्ने सविता श्रेष्ठ, मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका–३ की ३२ वर्षीया अस्मिता भन्ने कल्पना रूम्बा, जाजरकोट जिल्ला छेडेगाड नगरपालिका–९ घरभई हाल काठमाडाँै माहानगरपालिका टेकु बस्ने १६ वर्षीया रमिता अधिकारी र नुवाकोट जिल्ला तादी गाउँपालिका–१ का गणेश थापा रहेका छन् ।

उनिहरूलाई काभ्रे जिल्ला जाने बाटोमा पर्ने दोलालघाट र जिरोकिलोमा छाडेको पीडित परिवारले जनाएका छन् ।

विप्लव माओवादीका १७ जना कार्यकर्तालाई फागुन १७ गते चौतारा सागाचोकगढी नगरपालिका–१० स्थित खत्रिथोकबाट राति सर्वसाधारणको घरमा सुतिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएकाहरूमध्ये अदालतले चैत १३ गते तीन जना महिलालाई साधारण तारेखमा र अन्यलाई जनही ६ हजार रुपियाँ तथा रञ्जित भन्ने इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

प्रहरीले गिरफ्तार गरेका आठ जनाले अदालतमा धरौटी बुझाएर बाहिर जानलाग्दा अदालतको गेटबाट प्रहरीले भ्यानमा राखेर लगेको थियो ।

अन्य नौ जनालाई अदालतमा धरौटी बुझाउन नसकेपछि कारागारमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौड्यलले बताए ।

पुनःगिरफ्तारीमा परेका तीन जनालाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जनाए ।

अन्य

भिडियो