बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिसका लागि सरकारले समिति गठन गरेको छ ।
चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको त्यस आयोगको सदस्य, मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमध्येबाट वरिष्ठ अधिवक्ता रामनाथ मैनाली– सदस्य, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का– सदस्य र शर्मिला कार्की– सदस्यहरु रहेका छन् ।