बाढीका कारण विस्थापित भई भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका विद्यालय जान दैनिक डेढदेखि दुई घण्टासम्म गाडीमा यात्रा गर्न बाध्य भएका छन् । लामो यात्रा, पर्याप्त खानाको अभाव र थकानले उहाँहरूको शिक्षा तथा स्वास्थ्यमा असर परेको अभिभावकहरूले बताउनु भएको छ ।
बोडेस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरुलाई करिब १५ किलोमिटर दूरी पार गर्नुपर्ने र ट्राफिक अवस्थाअनुसार डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको पीडित पुनमदेवी पासवानले बताउनु भयो । उहाँका अनुसार बालबालिका बिहान सामान्य खाजा वा दूध खाएर विद्यालय जाने र विद्यालयमा दिउँसो खाजा मात्र पाइने भएकाले बेलुकासम्म पर्याप्त भोजन नपाउने अवस्था रहेको छ ।
खरिपाटीस्थित होल्डिङ सेन्टरका बालबालिकाले पनि दैनिक करिब एक घण्टा वा सोभन्दा बढी समय गाडीमा बिताएर विद्यालय पुग्नुपर्ने अवस्था रहेको अभिभावकहरूले बताउँनु भयो । उहाँहरूका अनुसार लामो यात्राका कारण बालबालिका घर फर्किँदा अत्यधिक थाक्ने गरेका छन् । इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा रहेका १५ जना बालबालिका स्थानान्तरणपछि करिब दुई सातासम्म विद्यालय जानबाट वञ्चित भएका थिए । सम्बन्धित निकायसँग समन्वयपछि उहाँहरूलाई स्थानीय विद्यालयमा अध्ययनको व्यवस्था गरिएको भए पनि विद्यालय पुग्न दैनिक करिब आधा घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको अभिभावकहरूले बताउनुभयो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टले बोडे र खरिपाटीका बालबालिकाका लागि शिक्षा मन्त्रालयको समन्वयमा सवारीसाधनको व्यवस्था गरिएको बताउनु भयो । उहाँका अनुसार नजिकका विद्यालयमा अध्ययनको व्यवस्था गर्ने प्रस्ताव गरिए पनि अधिकांश अभिभावकले बालबालिकालाई पहिलेकै विद्यालयमा निरन्तरता दिन चाहेकाले सोहीअनुसार यातायातको व्यवस्था गरिएको हो । उहाँले इचंगुनारायणका बालबालिकाको पढाइ केही समय प्रभावित भएको स्वीकार गर्दै हाल स्थानीय विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
शिक्षाविद् विद्यानाथ कोइरालाले होल्डिङ सेन्टरका बालबालिकाले दैनिक डेढदेखि दुई घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थाले उहाँहरूको शिक्षा, स्वास्थ्य र समग्र विकासमा नकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले सम्बन्धित स्थानीय तह, विद्यालय र सरोकारवाला निकायबीच समन्वय गरी होल्डिङ सेन्टर नजिकैका विद्यालयमा अध्ययनको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याउनु भयो।