INSEC Online

📅 २०८३ श्रावण ११

कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार

पथरीशनिश्चरे नगरपालिका–५ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय शिक्षकलाई गिरफ्तार गरेको छ ।

कुटपिटबाट बालकको कानको जाली फुटेको पीडित पक्षले आरोप लगाएको छ । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले झापाको गौरादह नगरपालिका–४ घर भएका ३८ वर्षीय शिक्षक प्रकाश अधिकारीलाई गिरफ्तार गरेको हो ।

साउन ६ गते बिहानको प्रार्थना सकिएपछि पीडित बालक विद्यालयको चौतारोमा बसेको र

कक्षाकोठामा नगएको विषयमा सोधपुछ गर्ने क्रममा शिक्षक अधिकारीले कुटपिट गर्दा बाँया कानको जाली फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

पीडित बालकको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ०८३ साउन ९ गते भर्ना गरेर उपचार भइरहेको छ ।

घटनाको तीन दिनपछि साउन ९ गते पीडित बालकका बाबु महिनारायण चौधरीले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित शिक्षकलाई अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको टोलीले गिरफ्तार गरेको हो ।

नेपालको प्रचलित कानुनअनुसार विद्यालयमा विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था छ । प्रहरीले घटनाको वास्तविकता, कुटपिटको कारण र अन्य पक्षका बारेमा अनुसन्धान गरिरहेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो