भोटखोला गाउँपालिकाले सदरमुकाम खाँदबारीमा नै सम्पर्क कार्यालय खोलेर बसेपछि सो गाउँपालिकाका स्थानीय थप समस्या झेल्न बाध्य भएका छन् ।
सम्पर्क कार्यालय खोलेर वडा अध्यक्षसहित गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा परेका हुन् ।
गाउँपालिकाको कार्यालय आफ्नै गाउँपालिकामा हुनु पर्नेमा नभएर सदरमुकाम खाँदबारीमा खोलिएको एक वर्ष बितिसकेको छ ।
गाउँमा कार्यालय सञ्चालनमा नआएपछि स्थानीय बासिन्दालाई सिफारिस, जन्मदर्ता, नागरिकताजस्ता कामका लागि ६ दिनसम्म हिँडेर सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको भोटखोला गाउँपालिका–२ चेपुवाका थुदोक लामाले गुनासो गरे ।
त्यस्तै स्थानीय तहको निर्वाचनपछि गाउँमै सबै सेवा हुने भनिएता पनि गाउँपालिकामा कुनै पनि कर्मचारी नआएकाले सदरमुकाम खाँदबारी पुग्नु पर्दा सिफारिसका लागि पनि १५ हजार रुपियाँ भन्दा बढी खर्च गर्नु परेको भोटखोला गाउँपालिका–१ किमाथाङ्काकी साङमु भोटेले गुनासो गरिन् ।
नागरिकताको लागि सिफारिस बनाउन पाँच दिन हिँडेर खाँदबारी पुगेका भोटखोला गाउँपालिका–१ किमाथाङ्काका मुटुक भोटेले भने–‘व्यवस्था फेरियो दुःख फेरिएन ।’
स्थानीय तहको निर्वाचनपछि घरदैलोमै सेवा पाउने आशा गरेका नागरिक पहिलेको जस्तै अवस्था भोग्नुपर्दा दिक्क भएका छन् ।
यस्तै कर्मचारी नहुँदा पनि थप समस्या भएको छ । कर्मचारी पूरा नहुँदा एकजना वडा सचिवले तीन ओटा वडा धान्नु परेको गाउँपालिकाका अध्यक्ष तेम्वा भोटेले बताए ।
निर्वाचित जनप्रतिनिधिहरूसँग बुझ्दा स्थानीय तहको निर्वाचनपछि गाउँमै सबै सेवा उपलब्ध हुने भनिए पनि गाउँमा पूर्वाधार, कर्मचारी व्यवस्थापन, विद्युत तथा बैङ्क नभएको भन्दै सदरमुकामबाटै सेवा दिनुपरेको गाउँपालिकाका अध्यक्ष भोटेले बताए ।
गाउँपालिका अध्यक्षको भनाइलाई स्थानीयहरुले भने झारो टार्ने र पन्छिने काम मात्रै भएको बताएका छन् ।