INSEC Online

📅 २०८३ श्रावण ११

प्रहरीले चलाएको गोली प्रहारबाट एक जनाको मृत्यु, आठ सर्वसाधारणसहित १६ जना घाइते

देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई पक्षबिच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

डिजे बजाएको विषयमा दुई पक्षबिच ०८३ साउन १० गते राति झडप भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका– ३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।

झडपका क्रममा प्रहरीको गोली प्रहारबाट आठ जना सर्वसाधारण र आठ जना प्रहरी घाइते भएका छन् । झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली प्रहारबाट देवागनञ्ज गाउँपालिका-३ का २२ वर्षीय मिथिलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथिलेश मेहता, २० वर्षीय अमितकुमार यादव, २१ वर्षीय रवीन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिल कुमार मेहता र २६ वर्षीय सुनिल मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी चन्द्रकुमार खड्काले बताउनु भयो । घाइतेहरुको विराटनरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा प्रहरीतर्फ आठ जना घाइते भएका छन् । इन्स्पेक्टर राकेश राई, गणेशनारायण श्रेष्ठ, वरिष्ठ प्रहरी हवल्दार अमरलाल यादव, प्रहरी जवान रामबहादुर राई, विजय यादव, असइ नवराज पोखरेल, प्रहरी जवान वुद्ध साह र निवेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश पराजुलीले बताउनु भयो ।

घाइतेहरुको जिल्ला अस्पतालसहित विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो