धनगढी उपमहानगरपालिका–१२ की २२ वर्षीय रेखा थापाको सेती अञ्चल अस्पताल, धनगढीमा शल्यक्रिया गरी बच्चा जन्मेको दुई दिनपछि मृत्यृ भएपश्चात सुत्केरी महिलाहरू सेवा लिन अस्पताल नआएपछि अस्पतालको प्रसूति गृह एक हप्तादेखि सुनसान रहेको छ ।
७० शैया रहेको सेती अञ्चल अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरूकोे चाप अत्याधिक भएको भए पनि डाक्टरको लापर्वाहीका कारण चैत ४ गते डेलीभरीका लागि ल्याइएकी थापाको चैत ६ गते मृत्यु भएको भन्दै पीडित परिवारले आरोप लगाएपछि सुत्केरी महिलाहरू प्रसूति सेवा लिन नआएको सेती अञ्चाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले बताए ।
दैनिक २५ जनासम्म प्रसूति सेवा लिन आउने र तीमध्ये दैनिक पाँच जनासम्मको शल्यक्रिया गरिने भएको भए पनि थापाको मृत्यु भएपश्चात दुई÷तीन जना महिला मात्रै प्रसूति सेवाका लागि आएको डाक्टर पाण्डेको भनाई छ ।
थापाको मृत्यु भएको घटनाले आफूलाईमा पनि डर, त्रास पैदा भएको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण बाध्य भएर प्रसूति सेवा लिन आएको धनगढी उपमहानगरपालिका–७ की ३० वर्षीया जानकी चौधरीले बताइन् ।
उनले भनिन–‘मेरो आर्थिक अवस्था कमजोर भएका कारण डरैडरले भए पनि प्रसूति सेवा लिन आए । चैत १३ गते सामान्य रूपमै मेरो डेलीभरी भयो । तर, मलाई व्याथाले च्यापेको समयमा नै स्वास्थ्यकर्मीहरूले अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्ने गरेको पाए ।’
गौरीगङ्गा नगरपालिका–३ कुचौनीकी २३ वर्षीया शर्मिला चौधरीको चैत १३ सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्मिएको उनका पति हरिप्रसाद चौधरीले बताए ।
स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य चेकजाँच गरीरहेका र हाल पत्नीको स्वास्थ्य अवस्था राम्रो रहेको चौधरीले बताए ।
धनगढी उपमहानगरपालीका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको डेलिभरीका लागि सोती अञ्चल अस्पतालमा ल्याइएको अवस्थामा डाक्टरको लापारवाहीका कारण मृत्यु हुन गएको उनका परिवारजनले आरोप लगाएपछि काठमाडौँ थापाथलीस्थित प्रसूति गृहका प्रमुख डाक्टर सन्देश पौडेलले घटनाको अनुसन्धान गरिसकेको भए पनि आधिकारीक प्रतिवेदन नआएको सेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बताए ।