INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्यापछि बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यापछि बलात्कार गरेको कसुरमा दुई जना बालकलाई जिल्ला अदालतले कसुर ठहर गरेसँगै जेल चलान भएका छन् ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कात्तिक १२ गते कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेपछि उनीहरू जेल चलान भएका हुन् ।

अदालतले १६ वर्षीय बालकको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय बालकको हकमा १६ वर्ष २ महिना ६ दिन साथै क्षतिपूर्तिबापत जनही १÷१ लाख रुपियाँ भराउन आदेश दिइएको छ ।

१७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप तीन वर्ष जेल र ३० हजार रुपियाँ जरिबानाको फैसला सुनाइएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले बताए ।

उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या, हातहतियार र खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताए ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध ऐनको दफा ११ ले एकै व्यक्तिलाई एकैपटक धेरै प्रकृतिको मुद्दा भएमा प्रत्येक कसुर अलग–अलग भएको मानी सजाय निर्धारण गर्ने तर कारबाहीको हकमा भने सबैभन्दा ठूलो सजायलाई कार्यान्वयन गर्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार उनीहरूलाई हत्यासम्बन्धी जन्मकैदको व्यवस्थामा २५ वर्ष रहेकाले जन्मकैदको कारबाही कार्यान्वयन गरिएको श्रेस्तेदार आचार्यले बताए ।

अदालतले बालिका हत्यामा २५ वर्ष र बलात्कारमा १५ वर्ष जेल सजायको फैसला सुनाएको हो । यसबाहेक १७ वर्षीयको हकमा हातहतियारसमेत देखिएकाले थप तीन वर्ष सजाय निर्धारण गरेको आचार्यले बताए ।

सबै सजाय जोड्ने हो भने १७ वर्षीय बालकको ४३ वर्ष जेल जीवन बिताउनु पर्ने हुन्छ । तर, बालक त्यसमा पनि भिन्नभिन्न प्रकृतिको घटना रहेकाले जन्मकैदलाई आधारमानी १६ वर्ष २ महिना ६ दिन जेल जीवन बिताउनु पर्ने छ ।

मुलुकी अपराध ऐनअन्र्तगत दफा २१९ (३) (ख) बमोजिम बलात्कार सम्बन्धी १५ वर्ष र सोही ऐनको दफा १७७ (२) बमोजिम हत्याको जन्मकैदको सजाय हुने अदालतले ठहर गरेको हो ।

त्यसैगरी १७ वर्षीय बालकले हातहतियार र खरखजना बोकी हिँडेकाले मुलुकी अपराध (संहिता) ऐन ०७४ को दफा १३२ (२) बमोजिम तीन वर्ष जेल र ३० हजार जरिबाना ठहर गरिएको आचार्यले बताए ।

बालिकालाई बलपुर्वक हत्या गरी करणी गरेको देखिन आएकाले अपराध संहिता ऐन २०७४ को दफा २२८ तथा सोही ऐनको दफा १८६ लाई समेत विचार गरी दुवैलाई १÷१ लाख रुपियाँ क्षतिपुर्ति ठहर गरिएको जनाइएको छ ।

१७ वर्षीय बालकको हकमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३६ (४) तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ (४) बमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको दुई तिहाई कम सजाय गर्ने व्यवस्था बमोजिम कारवाही गरिएको बताइएको छ ।

त्यसैगरी १६ वर्षीय नाबालकको हकमा बालबालिकासम्बन्धी ऐनको दफा ३६ (३) र सोही ऐनको दफा ४५ (३) बमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको आधा सजाय हुने व्यवस्था अनुरूप कारवाही गरिएको श्रेस्तेदार आचार्यले जानकारी दिए ।

घटनामा संलग्न रहेका दुवै जना बालक रहेकाले उमेर नपुगेसम्म बालसुधारगृहमा राख्ने र त्यसपछि कारागार चलान हुने गरी फैसला सुनाइएको छ ।

०७५ कात्तिक २४ गते सोही वडाको अमला जङ्गलमा कसुरदारद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौकाछोपी बलात्कार गरेका थिए ।

उनीहरु एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्दै आएका थिए । बलात्कार गर्न लाग्दा चिच्याएपछि घाँटीमा थिची हत्या गरेर बलात्कार गरेको कुसरदारहरूले प्रहरीको वयानमा बताएका थिए ।

घटनाको चार महिना १७ दिनका दिन अदालतले कसुरदार ठहर गरी यस्तो फैसला सुनाएको हो । कसुरदारहरू विरूद्ध पीडितका बुबा दुर्गाराज खड्काले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

त्यसअघि प्रहरीले घटनास्थलमा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएकोमा तीन जना संलग्न नरहेको देखिएपछि छाडिएको थियो ।

उनीहरूसँगै गिरफ्तारीमा परेका १६ वर्षीय बालक र १७ वर्षीय बालक संलग्न रहेको वयान दिएपछि प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको थियो ।

घटना लगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुर, चिकित्सकसहित डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले घटनाका दोषी पत्ता लगाउन सफल भएको थियो । प्रहरीले घटना घटेको ६ दिनमा प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपितहरू सार्वजानिक गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले घटना मनसायपूर्वक हत्या गरेको देखिन आएको दावी गर्दै दफा १७७ बमोजिम करणी, ज्यान र खरखजनासम्बन्धी कसुर अन्तर्गत कारवाहीको माग गर्दै ०७५ मङ्सिर २३ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्य

भिडियो