सदरमुकाम तानसेनदेखि ग्रामीण बस्तीहरूसम्म मानसिक सन्तुलन गुमाएका, परिवारबाट टाढिएका वा बेवारिसे अवस्थामा रहेका मानिसहरूको संख्या बढ्दो देखिन थालेको छ । सडक, बजार, बसपार्क, मठमन्दिर तथा सार्वजनिक स्थलमा आश्रय लिएर जीवन बिताइरहेका यस्ता व्यक्तिहरूको व्यवस्थापन स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संस्थाका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।
पछिल्ला केही वर्षयता तानसेन बजारमा मात्रै होइन, बगनासकाली, रिब्दीकोट, रामपुर, रम्भा, तिनाउलगायत ग्रामीण क्षेत्रमा समेत मानसिक अवस्था अस्वस्थ देखिने व्यक्तिहरू सडकमा भौतारिँदै हिँडेको दृश्य सामान्यजस्तै बनेको छ । कतिपय व्यक्तिले कपडा समेत नलगाई सार्वजनिक स्थानमा हिँड्ने, सडक किनार, चौतारा, मन्दिर परिसर वा सार्वजनिक भवन वरिपरि रात बिताउने गरेका छन् । यसले उनीहरूको मानवअधिकार, स्वास्थ्य र सुरक्षासँगै समुदायको सरसफाइ तथा सामाजिक व्यवस्थापनमा समेत प्रश्न खडा गरेको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल राम्दी सडक किनारमा यस्ता व्यक्ति दैनिक देखिन्छन् । यसैबीच साउन ७ गते बिहान पाल्पाको बगनासकाली गाउँपालिका कार्यालय परिसरमा करिब २० वर्षका भारतीय मूलका एक युवक बेवारिसे अवस्थामा फेला परेका थिए । उनी बोल्न सक्ने अवस्थामा नरहेको र मानसिक अवस्था असामान्य देखिएपछि गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय पाल्पासँग समन्वय गरी उद्धार गरेको थियो । गावुटुङ प्रहरी चौकीमार्फत ती युवकलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको हो । स्थानीय सरकारको सक्रियताले तत्काल उद्धार सम्भव भए पनि यस्ता व्यक्तिको दीर्घकालीन व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।
पाल्पाका विभिन्न स्थानमा यस्ता व्यक्तिहरू महिनौँदेखि सडकमै बस्दै आएका छन् । कतिपय नेपाली नागरिक भए पनि परिवारको सम्पर्कमा छैनन् भने केही भारतलगायत अन्य स्थानबाट भौतारिँदै पाल्पा आइपुगेका हुन सक्ने अनुमान गरिएको छ । उनीहरूको पहिचान खुलाउन र परिवारसम्म पु¥याउन कठिनाइ हुने गरेको सम्बन्धित निकायहरू बताउँछन् ।
मानसिक स्वास्थ्य सेवामा पहुँचको कमी, परिवारबाट बेवास्ता, गरिबी, लागुऔषधको दुरुपयोग, सामाजिक बहिष्करण तथा मानसिक रोगप्रतिको विभेदका कारण धेरै व्यक्ति अन्ततः सडकमा पुग्ने गरेको सरोकारवालाहरुको भनाई छ । मानसिक रोगलाई अझै पनि उपचारयोग्य स्वास्थ्य समस्याका रूपमा भन्दा सामाजिक कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको उनीहरूको भनाइ छ ।
पाल्पामा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूको उद्धार र पुनःस्थापनामा निलसागर आश्रमले विभिन्न निकायसँग सहकार्य गर्दै आएको छ । आश्रमले सडकबाट उद्धार गरिएका धेरै व्यक्तिलाई आश्रय, उपचार र परिवारसँग पुनर्मिलन गराउने प्रयास गर्दै आए पनि स्रोत, जनशक्ति र पूर्वाधारको अभावका कारण सबैलाई समेट्न नसकिएको जनाएको छ । निलसागरको पाल्पा शाखामा अहिले १३ जना आश्रित छन् । जसमध्ये ३ भारतीय मुलका रहेका छन् भने १० नेपालीहरु रहेको केन्द्रकी प्रतिनिधि कौशिला खनालले बताउनुभयो । जिल्लामा देखिएको आवश्यकताअनुसार स्थायी पुनःस्थापना केन्द्र, मानसिक स्वास्थ्य सेवा र बहुपक्षीय समन्वयको अभाव अझै रहेको सरोकारवालाहरूको भनाई छ
मानवअधिकारका दृष्टिले पनि सडकमा बेवारिसे अवस्थामा जीवन बिताउन बाध्य व्यक्तिहरूको अवस्था गम्भीर चिन्ताको विषय हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ भने मानसिक स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार पनि कानुनले प्रत्याभूत गरेको छ । तर व्यवहारमा उपचार, संरक्षण र पुनःस्थापनाको प्रभावकारी संयन्त्र कमजोर हुँदा धेरै व्यक्ति सडकमै कष्टकर जीवन बिताउन बाध्य छन् ।
मानवअधिकार एलायन्स पाल्पाका अध्यक्ष भगवान भण्डारीले यस्ता व्यक्तिलाई केवल सडकबाट हटाउने वा एक ठाउँबाट अर्को ठाउँमा सार्ने कार्यले मात्र समस्या समाधान नहुने बताउनुभयो । उनीहरूको स्वास्थ्य परीक्षण, मानसिक उपचार, परिचय खुलाउने प्रयास, परिवारसँग पुनर्मिलन, सामाजिक पुनःस्थापना तथा आवश्यक परे दीर्घकालीन संरक्षणको एकीकृत व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।
सडकमा भेटिने बेवारिसे व्यक्तिमध्ये अधिकांश भारतीय मूलका रहने गरेका छन् । उनीहरूमध्ये धेरैले नेपाली भाषा बोल्न वा बुझ्न नसक्ने भएकाले परिचय खुलाउने, आफन्तको खोजी गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरेर घर फर्काउने प्रक्रिया थप जटिल बन्ने गरेको छ । भाषा, परिचयपत्रको अभाव र मानसिक अवस्था अस्वस्थ भएकाले उनीहरूको वास्तविक ठेगाना पहिचान गर्नसमेत कठिनाइ हुने गरेको छ ।