प्रादेशिक अस्पताल लहानमा ०८३ साउन १ गतेदेखि मेडिकल अधिकृतहरुको म्याद थप नभएको र विशेषज्ञको दरबन्दी रिक्त रहेकोले भिडियो एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । मिर्चैया नगरपालिका– ११ की ६५ वर्षीया पार्वती महराले अस्पतालबाट पाइने सेवाको शुल्क कम हुने भन्दै सेवा बन्द भएकोले निजीमा महँगो शुल्क तिर्नु परेको बताउनु भयो ।
त्यस्तै लहान नगरपालिका– ५ की ७० वर्षीया फुलमाया परियारले गरिब छौँ ऋण गरेर उपचार गर्न आएको बताउनु हुन्छ । अस्पताल बाहिर गएर एक्सरे गराउँदा बढी पैसा तिर्नु परेको बताउनु भये ।
अधिकारकर्मी देवकुमारी महराले स्वास्थ्य संस्थाजस्तो संवेदनशिल ठाउँमा सेवाहरु र जनशक्ति चुस्त दुरुस्त राख्नु पर्ने बताउनु भयो । कसलाई कुनबेला के सेवा चाहिन्छ, सोको ख्याल राख्दै अस्पताल व्यवस्थापन समितिले त्यसको व्यवस्था पहिलेनै गर्नु पर्ने भन्दै सेवा नपाएर बिरामीको मृत्यू भएको अवस्थामा अस्पताल जवावदेही हुनुपर्ने बताउनु भयो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर वर्षा प्रकाशका अनुसार रेडियोलोजी विशेषज्ञको दरबन्दी रिक्त रहेको र मेडिकल अधिकृतले नै भिडियो एक्सरे सेवा दिँदै आइराख्नु भएको थियो । असार मसान्तदेखि म्याद थप नभएको र विशेषज्ञको लागि विज्ञापन भएर प्रकृयामा रहेकोले केही दिनको लागि सेवा प्रभावित भएको बताउनु भयो ।