राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त टोलीले चैत १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतको अनुगमन गरेको छ ।
गोदावरी नगरपालिका–५ का ३० वर्षीय रूप देवकरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाको कार्यकर्ता भएको आरोपमा चैत ११ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको भए पनि प्रहरीले गिरफ्तार नगरेको बताउँदै भेटघाट गर्न समेत नदिएको भन्दै पीडित परिवारले इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगमा चैत १२ गते निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा रूप देवकरलाई आगजनी गरेको कसुरमा चैत ११ गते प्रहरीले गिरफ्तार गरी सोही दिन थुनुवा पुर्जी दिई हिरासतमा राखेएको पाइएको अनुगमन टोलीमा रहेका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशी र राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख झङ्करबहादुर रावलले बताए ।
प्रहरी हिरासतमा राखिएका देवकरले आफू दाजुको घरमा गएको अवस्थामा प्रहरीले पक्राउ पुर्जी नदिइकनै गिरफ्तार गरेको र अहिलेसम्म पनि परिवारहरूसँग भेटघाट गर्न नदिएको अनुगमन टोलीसँग दुखेसो पोखेका थिए ।
अयोग र इन्सेकको संयुक्त पहलमा मात्रै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका आफ्ना दाजु देवकरलाई गिरफ्तार गरेको प्रहरीले स्वीकार गरी आफूलाई पनि भेटघाट गर्न दिएको गिरफ्तारीमा परेका देवकरका भाइ पुरन देवकरले बताए ।
हिरासत अनुगमनका क्रममा अनुगमन टोलीले अन्य थुनुवाहरूको अवस्थाका बारेमा पनि जानकारी लिएको थियो ।
सोही क्रममा थुनुवाहरूले आफूहरूलाई मानवीय व्यवहार गरेको, थुनुवा पुर्जी दिएको र स्वास्थ्य परीक्षण गरेको जानकारी गराएका दिएका थिए ।