INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ जिल्ला अदालतमा २६ हजारभन्दा बढी मुद्दा विचाराधीन

काठमाडौँ जिल्ला अदालतमा आ.व ०८२/८३ को अन्त्यसम्म २६ हजार ४ सय ४५ मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले बताउनु भयो । उहाँका अनुसार जिल्ला अदालतमा कुल ४६ हजार २ सय ७७ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये १९ हजार ८ सय ३२ थान मुद्दाको मात्रै अन्तिम फैसला हुन सकेको छ भने बाँकी २६ हजार ४ सउ ४५ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन् ।

अदालतमा दर्ता हुने मुद्दाको सङ्ख्या उच्च रहँदा, गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा अदालतका महत्वपूर्ण मिसिलमा पुगेको क्षतिले न्याय सम्पादन प्रक्रियामा थप प्रभाव पारेको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालतका अनुसार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी तथा अन्य कारणबाट २ हजार २ सय ३० थान मुद्दाका मिसिल जलेर नष्ट भएका थिए । तीमध्ये अधिकांश मिसिल पुनः सङ्कलन तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइए पनि हालसम्म १ सय ९० थान मुद्दाका मिसिल फेला पार्न नसकिएको प्रमुख न्यायाधीश खड्काले जानकारी दिनुभयो । मिसिल नष्ट भएपछि सम्बन्धित मुद्दाको प्रमाण, कागजात तथा प्रक्रिया पुनः सङ्कलन गर्नुपर्ने अवस्था सिर्जना भएकाले नियमित सुनुवाइ तथा फैसला प्रक्रियामा उल्लेखनीय ढिलाइ भएको अदालतको भनाइ छ । अदालतले सम्बन्धित पक्ष, सरकारी निकाय तथा कानुन व्यवसायीको सहयोगमा हराएका अभिलेख पुनः तयार पार्ने काम गरिरहेको जनाएको छ ।

जेनजी आन्दोलनपछि अदालतको नियमित सेवा समेत केही समय प्रभावित बनेको थियो । अदालतमा ०८२ मङ्सिर १४ गतेदेखि मात्रै नियमित सुनुवाइ पुनः सञ्चालनमा आएको थियो । त्यसयता अदालतले विचाराधीन मुद्दा घटाउने प्रयास गरिरहेको भए पनि मिसिल क्षति, नयाँ मुद्दाको बढ्दो चाप तथा सीमित स्रोत–साधनका कारण बाँकी मुद्दाको सङ्ख्या अझै उच्च रहेको जनाइएको छ । काठमाडौँ जिल्ला अदालत देशकै सबैभन्दा बढी मुद्दाको चाप हुने अदालतमध्ये एक हो । प्रत्येक वर्ष हजारौँ नयाँ मुद्दा दर्ता हुने भएकाले पुराना मुद्दाको फर्स्योट र नयाँ मुद्दाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

आगामी आर्थिक वर्षमा विचाराधीन मुद्दाको संख्या घटाउन प्राथमिकताका आधारमा सुनुवाइ अघि बढाउने, मिसिल पुनःस्थापनाको कामलाई तीव्रता दिने तथा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजना रहेको जिल्ला अदालत काठमाडौँले  जनाएको छ ।

पार्बती साउद

अन्य

भिडियो