राष्ट्रिय मानव अधिकार आयोगले विरोधका कार्यक्रमलाई फरक ढङ्गबाट सोच्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।
आयोगले चैत १३ गते विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिवद्वारा यही चैत १६ गते शनिबार गर्ने भनिएको नेपाल बन्दको आह्वान सहितको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले त्यस्तो आग्रह गरेको हो ।
चैत १६ गते शनिबारको दिन पनि अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको एसइइ परीक्षा हुने भएकाले नेपाल बन्दका कारण परीक्षामा असर पर्ने हुँदा चैत १६ गतेको लागि आह्वाान गरिएको नेपाल बन्द कार्यक्रम फिर्ता लिन आयोगले विशेष आग्रह गरेको छ ।
विज्ञप्तिमा बन्दका कारण चैत १६ गतेका लागि निर्धारण गरिएको कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने उल्लेख छ ।
बन्दको आह्वानले आम नागरिकको हक अधिकार संरक्षण भन्दा पनि सम्पूर्ण जनजीवन नै कष्टकर र पीडादायी हुने हुँदा विरोधका कार्यक्रमहरूलाई फरक ढङ्गबाट प्रस्तुत गर्न सुझाउँदै चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न अयोगले आग्रह गरेको छ ।