दमक नगरपालिका–२ की ४२ वर्षीया विजयाकुमारी दर्जीलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेपछि ४२ वर्षीय पति धनबहादुर दर्जीले आत्महत्या गरेका छन् ।
घरायसी विवादका क्रममा ०८३ साउन ६ गते खुकुरी प्रहार गरी पत्नीको हत्यापछि आरोपित पतिले झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।
खुकुरी प्रहारबाट टाउको र बायाँ हातमा चोट लागेर घाइती हुनु भएकी विजयाकुमारीको दमक अस्पतालमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएको हो ।
पत्नीलाई खुकुरी प्रहार गरेपछि घरकै अर्को कोठामा गएर पासो लगाएका आरोपितलाई परिवारका सदस्यले तत्कालै डोरी काटेर उपचारका लागि दमक अस्पताल पुर्याएका थिए ।
उपचारका क्रममा दुवै जनाको साउन ६ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय, दमकका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि मेची अस्पताल लगिएको मृतककी २५ वर्षीया छोरी प्रियंका दर्जीले बताउनु भयो ।
पोष्टमार्टमपछि साउन ७ गते कन्काइ माइमा सद्गत गरिने भएको छ ।